९६ घण्टासम्म दुई वटा चट्टानका बीचमा च्यापिएका व्यक्तिकाे उद्दार

एजेन्सी, श्रावण २६ ।
भनिन्छ, काल नआएसम्म कसैकाे मृत्यु हुँदैन, चाहे हाम फालेर आत्महत्या गरुन् या त झुण्डिएर । यस्तै घटना भएकाे छ कम्बाेडियामा । कम्बोडियाको एक जङ्गलमा चमेराको मल खोज्न गएका एक व्यक्ति दुई वटा चट्टानका बीचमा चार दिनसम्म अर्थात पूरै ९६ घण्टासम्म च्यापिएका थिए । उनलाई अहिले उद्दार गरिएको छ ।
सम बोरा नामक २८ वर्षीय ती व्यक्ति आइतबार आफ्नो टर्च खोज्ने क्रममा दुई वटा चट्टानको बीचमा लडेका थिए । गुआनो भनिने चमेरोको मल खादका रूपमा उपयोग गरिन्छ । साेही चमेराकाे मल खाेज्ने काम यहाँका गरिब कृषकलाई आयआर्जनकाे माध्यम बनेको छ ।
सम बोरा तीन दिनसम्म पनि नफर्किएपछि चिन्तित परिवारले उनलाई खोज्न थालेका थिए । उनका भाईले उनलाई भेटे अनि अधिकारीहरूलाई उनी च्यापिएको ठाउँको बारेमा जानकारी दिए । चक्री पहाडको जङ्गलमा बोरा चट्टानमाझ च्यापिएका थिए ।
लगभग २०० उद्दारकर्मीहरूले बोरालाई १० घण्टा लगाएर उद्दार गरे । चट्टानलाई स–साना टुक्रा पारेर उनलाई झिकिएको प्रहरीका मेजर सरेत विसेनले बताए ।
उनलाई बुधबार साँझ ६ बजे मुक्त गरियो । उनी अत्यन्तै कमजोर देखिएका थिए र उनलाई प्रान्तीय अस्पताल पुर्याइएको थियो ।
प्रतिक्रिया