चितवनका जङ्गलमा गाईबस्तु चराउन बन्द
चितवन, बैशाख १५ ।
चितवनको पूर्वी क्षेत्रमा रहेको कुमरोज सामुदायिक वन पर्यटकीय क्षेत्रको रूपमा विकास भएकाले त्यस क्षेत्रमा गाईवस्तु चराउन बन्द गरेको छ ।
यस वनमा वन्यजन्तुको वासस्थानमा बृद्धि भएकाले निश्चित ठाउँमा मात्र चरिचरन गर्न पाइने व्यवस्था गरेको छ । सामुदायिक वन समितिले अहिले वरपर गाउँका गाईवस्तु चराउनको लागि दुई ठाउँमा तारबार लगाएको छ ।
उक्त वनको इचर्नी पोष्ट र जनकपुर पोष्टनजिकै करिब १०/१० हेक्टर क्षेत्रफलमा मात्रै गाईवस्तु चराउन पाइने नयाँ नियम बनाइएको सामुदमयिक वन समितिले जनाएको छ ।
अन्य क्षेत्रमा मानिस र पालुवा जनावरको आवत–जावत हुने हुँदा पर्यटन क्षेत्रमा र वन्यजन्तुको वासस्थानमा प्रभावित हुने भएकाले चरिचरनमा रोक लगाइएको सामुदायिक वनले जनाएको छ ।
जङ्गलमा चरिचरन र घाँस दाउरा गर्न जाँदा जङ्गलमा भएका वन्यजन्तुको आक्रमणमा परी ज्यान जाने भएकाले अहिले उक्त जोखिममा केही कमी आएको स्थानीयवासीहरूले बताएका छन् ।
चितवनको सौराहासँगै जोडिएको उक्त क्षेत्रमा अहिले विदेशी पर्यटकसमेत गैँडा हेर्न पुग्ने गरेका छन् भने हात्ती सफारी र जिप सफारी गरेर वन्यजन्तु अवलोकन गर्न पनि सकिन्छ ।
स्थानीय बूढी राप्ती उपभोक्ता समिति, कुमरोज सामुदायिक वन, खैरहनी नगरपालिका, चोरी सिकार नियन्त्रण युवा जागरण अभियानलगायत संघ–संस्थाको पहलमा उक्त क्षेत्रमा चरिचरन बन्द गरिएको हो ।
प्रतिक्रिया