जेठ १ गतेदेखि जथाभावी बाटो काट्नेलाई दुई सय जरिवाना

प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार १४:४८


काठमाडौं, बैशाख १५ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले आउँदो जेठ १ गतेदेखि जथाभावी बाटो काट्ने र फुटपाथबाट नहिँडेर सडकमा हिँड्नेलाई दुई सय जरिवाना तिराउने भएको छ ।

काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी ‘बढ्दो सवारी साधन व्यवस्थित गर्न र दुर्घटना न्यूनीकरणको अभियान’ मार्फत जानकारी दिएको छ । उपत्यकामा हुने दुर्घटनामा ४० प्रतिशत पैदल यात्रुको मृत्यु हुने भएकाले यो नियम लागू गर्न लागिएको हो ।

उक्त कार्यक्रममा प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले राज्यले ट्राफिक क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले जेब्रा–क्रसिङमा चालक र यात्रु दुबै सचेत भएमात्र दुर्घटनामा कमी आउने र सडकमा छाडा गाईबस्तु छोड्दा धेरै दुर्घटना भएको भन्दै यसबारे सम्बन्धित निकाय गम्भीर हुनुपर्ने कुरामा ध्यानाकर्षण गराएका थिए ।

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले काठमाडौंलाई शान्त र सुन्दर सहर बनाउनका लागि महानगरपालिका लागिपरेको छ र महानगरपालिकाले बैैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरिनुका साथै अहिले सडकमा धूलो धेरै भएकाले रातिको समयमा सडक पखाल्ने काम भईरहेको पनि जनाएको छ ।

महाशाखाका प्रमुख मिङमार लामाले उपत्यकामा हुने दुर्घटनामध्ये अधिकांश मोटरसाइकल र स्कुटरबाट हुने भएकाले यसको न्यूनीकरणका लागि यो अभियान चलाएको बताएका छन् । उनले जथाभावी बाटोमा हिँड्ने वा काट्ने तथा जेब्रा–क्रसिङबाट बाटो काट्दा सवारी नरोक्ने सवारी चालकलाई पनि कारबाही गरिने बताए ।

उनले सडक सुरक्षासम्बन्धी उपत्यकाका २६ वटा सामुदायिक केन्द्रमार्फत आजैदेखि जनचेतनाको कार्यक्रम सञ्चालन गरिएको बताएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

देउतीबज्यै मन्दिरकी पुजारी घाँटीमा पासाे लगाएकाे अवस्थामा मृत फेला

काठमाडाैं, कार्तिक २८ । सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत फेला अवस्थामा फेला परेकी.....