राजधानीमा गुड्ने पैँतीस सय ट्याक्सीमा प्रिन्टर मेशिन जडान
काठमाडौं, बैशाख १६ ।
काठमाडौं उपत्यकाभित्र गुड्ने ट्याक्सीले उपभोक्तालाई निरन्तर ठगिरहेको गुनासो व्यापक मात्रामा आएपछि गत पुसदेखि नेपाल गुणस्तर तथा नापतौल विभागले हरेक ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्ने कार्यलाई तीब्र गतिमा सुरु गरेको छ ।
अनिवार्य रूपमा ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहीअनुसार २०७४ साल साउनको पहिलो सातासम्म काम सक्ने गरी तीब्र गतिमा काम भइरहेको विभागकी प्रवक्ता रोमी मानन्धरले जानकारी दिएकी छन् ।
‘विभागले शुक्रबारसम्म तीन हजार पाँच सय ट्याक्सीमा प्रिन्टर मेशिन जडान गरिसकेको छ’ प्रवक्ता मानन्धरले बताइन् । ‘विभागले हाल दैनिक ५० देखि सय वटा ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्दै आएको छ ।
ट्याक्सी सञ्चालकले प्रिन्टर मेशिन जडान गर्दा रु. सात हजारदेखि रु. नौ हजारसम्म खर्च लाग्ने गरेको छ । विभागले आम ट्याक्सी चालकलाई आफ्नो ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्न तथा बिल लिएर यात्रा गर्नका लागि जनचेतनामूलक कार्यक्रमसमेत चलाएको छ ।
हाल काठमाडौं उपत्यकामा आठ हजार पाँच सयको हाराहारीमा ट्याक्सी रहेको र तोकिएकै मितिमा प्रिन्टर मेशिन जडानको काम सकिने विभागअन्तर्गत रहेको ट्याक्सी तथा ट्याम्पो इकाईका प्रमुख विकास ध्वजुले जानकारी दिए ।
यस्तै ट्याक्सीले आफ्नो पालामा मिटर जडान गरेको छ की छैन भनेर विभागका कर्मचारी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी र महानगरपालिकाका कर्मचारीले दिनहुँ छड्के जाँच गर्ने गरेको विभागले जनाएको छ ।
प्रतिक्रिया