मत्स्येन्द्रनाथको रथ तान्ने जात्रा आजदेखि सुरु
ललितपुर, बैशाख १७ ।
रातो मत्स्येन्द्रनाथको रथ तान्ने जात्रा आजदेखि सुरु हुँदैछ । जात्राको सबै तयारी पूरा भइसकेको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । संस्थानकाअनुसार यस वर्ष जात्रा सञ्चालनका लागि लगभग ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
जात्रा गर्न शनिबार पुल्चोकमा रथअघि ललितपुरका तत्कालीन राजा सिद्धिनरसिंहका सन्तान भनिने टंगलका मल्लहरूले मत्स्येन्द्रनाथका तर्फबाट गाई दान गरेका थिए । जात्रा निविघ्न सम्पन्न होस् भन्ने कामनासहित अक्षय तृतीयाका दिन गाई दान गर्ने चलन रहेको छ ।
मल्लहरूले एउटा गाई र ११ गाईका प्रतीक तथा सख्खरपानीले भरिएको १२ वटा कलिचर (भोंचा), भिजेको सानो केराउ, सातु, मासका गेडा, रोटी, चिउरा, फलफूल पूर्णचण्डीका ‘सेसे ब्रहमाण’ राजोपाध्यायलाई दान गरेका थिए । शनिबार मत्स्येन्द्रनाथको रथ वरिपरि स्तोत्र पाठ गर्ने, बत्ती बाल्ने, सख्खरपानी दान गर्नेको घुइँचो लागेका थियो ।
जात्राको पहिलो दिन रथलाई बाजागाजासाथ पुल्चोकबाट गास्बहालमा पु¥याइनेछ । उक्त अवसरमा मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर गाःबहाल पुर्याइनेछ । मीननाथको रथलाई अघिअघि राखेर मत्स्येन्द्रनाथको रथलाई पछिपछि तान्ने चलन छ ।
जात्रामा राजा सिद्धिनरसिंह मल्लका ऐतिहासिक खड्गलाई मत्स्येन्द्रनाथको रथमा राखिन्छ । ललितपुरकी जीवित देवी कुमारीलाई पनि हख बहालको मूल ढोकामा राखिनेछ । जात्रामा बाजागाजा र शार्दूलजंगको पल्टन सम्मिलित हुनेछ । रथ गाःबहाल पुगेकै रातमा ‘छोय्ला बू’ भनी भोजको आयोजना गर्न र समय् बजी (प्रसाद) बाँड्ने परम्परा छ । गाःबहालको जात्रापछि मीननाथको रथ अगाडि र रथ पछिपछि तान्दै महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोलमा पुर्याइनेछ ।
पुल्चोकमा रथारोहणसंगै सुरू भएको जात्रा जावलाखेलमा भोटो देखाई मत्स्येन्द्रनाथको सानो खटमा राखी बुङमती पुर्याएपछि सम्पन्न हुनेछ ।
प्रतिक्रिया