अस्ताउन लागेकाे सूर्यलाई अघ्र्य दिई छठ मनाइँदै

प्रकाशित मिति: १६ कार्तिक २०७६, शनिबार ०८:२१


जनकपुरधाम, कार्तिक १६ ।
शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक धूमधामसँग मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्तर्गत ब्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिएर दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामाग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने छन् ।

सन्तान प्राप्ति, निरोगीता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वासअनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतिक यो पर्व मनाइन्छ । पर्वमा धनी, गरिब, उचनिचको भेद्भावलाई छाडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा अर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामाग्री पुर्‍याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।

यस पर्वमा बाँसको सामाग्रीमा अघ्र्य दिएपछि वंश वृद्धि, केरामा भगवान् विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धि तथ्यसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजा अर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।

यसैबीच, जनकपुरधाममा श्रद्धालु इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।

गएराति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामाग्री राखी छठ पर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

हाल देशमा जलवाष्पयुक्त हावाको पनि प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, चैत २७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम.....

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....