पाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण हुने

भक्तपुर, मंसिर ३ ।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं.–७ गुण्डुस्थित नवनिर्मित माता पाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण हुने भएको छ । आगामी पाँच वर्षभित्र गुरुयोजना कार्यान्वयन गर्ने गरी गुरुयोजना निर्माण हुन लागेको हो ।
गत असोज १२ गतेदेखि २१ गतेसम्म सोही क्षेत्रमा लगाइएको शतचण्डी ज्ञान महायज्ञ गरी पाथीभरा वैष्णोदेवीको मन्दिर स्थापना गरिएको थियो । सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटन विकास गर्नका लागि द्वारकापुरी दिव्यधाम निर्माण गर्न लागिएको आज रफत सञ्चार क्लबमा आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे छ ।
सो क्षेत्रमा सत्सङ्ग हल, गुरुकुल, यज्ञशाला, पाठशाला, गौशाला, धर्मशाला, प्रतिक्षालय, द्वारका कुण्ड र मन्दिर प्रवेशको आकर्षक द्वार र सबै गोत्रका ऋषिका प्रतिमा स्थापना गरिने गरी गुरु योजना बनाएको मन्दिर मूल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिएका छन् ।
पाथीभरा मन्दिर मूल व्यवस्थापन समितिका संरक्षक एवं १०८ भागवत बाचक अरबिन्द्र शास्त्रीले पाथीभरा माताको दर्शन गर्नाले सुख, शान्ति र समृति प्राप्ति हुने बताए । उनले शुक्रबार मन्दिरको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जानकारी दिए ।
पाथीभराको मन्दिर निर्माण भएपछि अहिले हरेक दुईदेखि तीन सय धार्मिक पर्यटकले मन्दिरको दर्शन गर्न थालेकाको मूल व्यवस्थापन समितिका संरक्षक अरबिन्द्र शास्त्रीले जानकारी दिए ।
गत दशैँमा लगाइको शचण्डी महायज्ञबाट १४ लाख ७४ हजार २८ रुपैयाँ आम्दानी भएको थियाे । जसमा नौ लाख ७२ हजार सात सय २१ खर्च भएको र बाँकी रकम गुण्डुको सानाकिसान कृषि सहकारी संस्थामा बचत गरिएको समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा गौसंरक्षक केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण गर्न गौ संरक्षण केन्द्रले सहयोग गर्ने बताए ।
प्रतिक्रिया