कला र कविताको पक्षमा दुई कवि र एक कवियत्रीको बेजोड प्रस्तुती

काठमाडौं, माघ १० ।
निरन्तर साहित्य र संस्कृतिको उत्थानमा एकाध रूपमा अगाडि बढ्दै गइरहेको चर्चित साहित्यिक संस्था ‘सँझ्या साहित्य’ भक्तपुरद्वारा आयोजित एक कार्यक्रममा साहित्यमार्फत देश, जनता र समाजलाई आफ्नो साहित्य प्रस्तुतिकरणमार्फत तीन साहित्यकारले व्यंग्य प्रहार गर्दै आफ्नो बेजोड साहित्य प्रस्तुत गर्न सफल मात्र भएन दर्शकहरूको मन जित्दै तालीसँगै वाहवाही कमाउन सफल भएका छन् ।
आयोजक संस्था ‘सँझ्या साहित्य’को यस महिनाको श्रृङ्खलामा भिन्न पुस्ताका तीन कवि उक्त प्रस्तुतीमा प्रस्तुत भए । दशकौँदेखि नेपाली कविताको फाँटमा भिन्न शिल्पले आफ्नो बेजोड उपस्थिति जनाउँदै आइरहेका कवि एवं प्राज्ञ डा. अमर गिरी, नारी सौन्दर्य र जातीय पहिचानसहित कवितामा आफ्नो कलम चलाई रहेकी कवियत्री बिमला तुम्खेवा र करिब दशकौँदेखि भाषिक सौन्दर्य र पहिचानको मुद्दामा दरिलो कविताका कारण नेपालभाषा र नेपाली साहित्यमा लोकप्रियता कमाउन सफल कवि सुधीर ‘ख्वबि’ हरूले आ–आफ्ना साहित्यिक प्रस्तुती प्रस्तुत गरे ।
प्राज्ञ डा. गिरीले नेपाली समसामयिक राजनीतिमा व्याप्त विकृतिलाई आफ्नो साहित्यमार्फत प्रहार गर्दै लेखिएको भिन्नता शीर्षक कविताबाट सुरु गर्दै लय, पाठ, चतामरी, पुनः नारायण हिटी, परिचय, वृक्ष र मैले भन्नुपर्ने छ कविता प्रस्तुत गरेका थिए ।
स्थानीय र आञ्चलिक बिम्बसहितका उनका कवितामा राजनीति, देशप्रेम र सामाजिक, आर्थिक र राजनीतिक अस्थिरता, असमानतामा केन्द्रित रहेको थियो । पुनः नारायण हिटी कवितामार्फत उनले महेन्द्रकालीन राष्ट्रवादको भण्डाफोर गरे भने मैले भन्नुपर्ने वामपन्थमा विकसित हुँदै गरेको राजकीय प्रवृत्ति, दास मनस्थितिमाथी सटिक रूपमा व्यंग्यसमेत गरेका थिए ।
अर्का बलिया कवियत्री बिमला तुम्खेवाले झरी परेको एक बिहान तिमीलाई सम्झिँदा शीर्षक प्रेमले प्रतिबिम्बित रुमानी कविताका साथ प्रस्तुत भइन् । उनले हजार सपना र मनमाया, जेठी सुबिनी, आमा, के देशले लाश उत्पादन गरिरहेछ ? शहरमा बदनाम कथा र एउटा आदिबासीको कथा प्रस्तुत गरिन् ।
हजार सपनामा मनमाया कवितामार्फत उनले ब्रिटिश आर्मीका पत्नीहरूको मर्म र दुःखको बेदनालाई बयान गर्नसमेत सफल भइन् भने देशको असमान न्याय र महिलामाथी गरिने थिचोमिचो र विभेद्पूर्ण सामाजिक व्यवस्थाका कारण महिलाले भोग्नुपर्ने बाध्यात्मक परिस्थितिलाई बयान गरिन् ।
नारी र आदिबासीमाथी राज्यले युगौँयुगदेखि गरिरहेको अन्यायबिम्बित एउटा आदिबासीको कथा शीर्षक कविता प्रस्तुत गर्दा उपस्थित दर्शकहरूले तालीले स्वागत गर्दै थप हौसला प्रदान गरे । त्यस्तै रेमिट्यान्सले धानिरहेको देशलाई के देशले लाश उत्पादन गरिरहेछ कवितामार्फत चुनौती गर्दा दर्शकहरूलाई भावुकसमेत बनाउन उनी सफल भएकी छन् ।
यसैगरी, आफ्नो साहित्य प्रस्तुत गर्ने क्रममा नेपालभाषा र नेपाली साहित्यिक क्षेत्रमासमेत पोख्त मानिएका कवि सुधीर ‘ख्वबि’ले आफ्नो प्रस्तुती बिज्ञापन कविता बाचन गर्दै सुरुवात गरेका थिए । गरिब, नारी, आदिबासी जनजातिलाई बिज्ञापनमा देखाएर सरकारले मचाएको बहुराष्ट्रिय ताण्डबमाथी गरिएको उनको उक्त कविता वाचनले दर्शकहरूको तालीसँग वाहवाहीसमेत पाएका थिए ।
कवि ‘ख्वबि’ले निःस्तब्ध, अलबिदा प्रिय कविता अलबिदा, रूपान्तरण, गुलामहरूको देश हुँदैन, प्रेम कविता, घामको बाटो र देशको नाममा कविता प्रस्तुत गरेका थिए । उनले निःस्तब्धतामा दुःखको आवाज नहुने र दुखेकाको आवाज कसैले नसुन्ने स्वार्थी समाजको चलन सुनाए भने गुलामहरूले देश विकासको बाटो थुनिरहेकामा आक्रोशसमेत पोखेका छन् ।
देशका नाउँ कवितामार्फत उनले देश कतै नभएको दुखेसो पोख्दै घामको बाटोमा उनले समाजमा व्याप्त ऊँचनिच र वर्गीय असमानता अन्त्य नभएसम्म देशले निकास नपाउने निष्कर्षसमेत निकालेका थिए ।
सोही कार्यक्रममा युवा कवि घनश्याम अस्तित्वले पनि एउटा कविता वाचन गरेका थिए ।
प्रतिक्रिया