किराँत समुदायले आज उधाैली पर्व धूमधामसँग मनाइँदै, नेवार समुदायमा यःमरी पूर्णिमा मनाइँदै

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार ०८:१४


काठमाडाैं, मंसिर २६ ।
किराँत समुदायले आज उधौली पर्व धूमधामसँग मनाउँदै छन् । खेतबारीमा उब्जाएको अन्नबाली इष्टदेवलाई चढाएर खुशीपूर्वक यो पर्व मनाउने परम्परा रहीआएको छ ।

प्रकृति पूजक मानिने आदिबासी किराँत समुदायले हर्षाेल्लासका साथ उद्यौली पर्व मनाउँदै छन् । आदिबासी किराँत समुदायले हरेक वर्ष मंसिर पूर्णिमाका दिन मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशीयालीमा उधौली पर्व मनाउने गर्दछन् । यो पर्वमा पाकेका अन्नबाली आफ्ना देवी–देवतालाई चढाएर न्वागी पूजा गर्ने प्रचलन रहेको छ ।

आदिबासी किराँत समुदायभित्र विशेषगरी राई, लिम्बु, सुनुवार, याख्खालगायतका जातिले आ–आफ्नै संस्कारअनुसार यो पर्व मनाउने गर्दछन् । उधौलीको दिन बिहानै प्रकृतिको पूजा गर्ने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने समय बैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ ।

चिसो याम सुरु भएपछि नदी तथा खोलामा पाइने माछा, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा ओरालो (उँधो) न्यानो ठाउँतिर बसाइँ सरेको समयको संकेत गर्दै यो पर्व मनाउने गरिन्छ । किराँत समुदायहरूले खेतबारीमा पाकेका अन्नबाली आफ्ना इष्ट देवतालाई चढाएपछि मात्र आफूले खाने गर्दछन् । जसकारण यो पर्वलाई न्वाङ्गी पूजा पनि भन्ने गरिन्छ ।

त्यस्तै, यो पर्वलाई आदिबासी समुदायअन्तर्गतका लिम्बु समुदायले भने चासोक तङ्नाम भन्ने गर्दछन् । चासोकको अवसरमा लिम्बु समुदायका युवायुवतीहरू च्याब्रुङ बजाएर साइनो नलाग्ने युवायुवतीहरू एकआपसमा हात समाएर पालाम गाउँदै धान नाच्ने गर्दछन् । पछिल्लो समय यो पर्वलाई एकता र मेलमिलापको रूपमा समेत लिन थालिएको छ ।

यसैबीच, नेवार समुदायमा आज यःमरी पूर्णिमा धूमधामसँग मनाइँदैछ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । यःमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।

यःमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोट गरेर यःमरी पकाइने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले बताए । यःमरी दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर यःमरी पूर्णिमा मनाउँछन् । साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको यःमरी सगुन भनेर उपहार पठाउने चलन पनि रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

हाल देशमा जलवाष्पयुक्त हावाको पनि प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, चैत २७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम.....

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....