भक्तपुर जिल्लाको चाँगुमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन कोर्ट बन्ने

भक्तपुर, बैशाख १९ ।
पर्यटकीय जिल्ला भक्तपुरमा चाँगुनारायण नगरपालिका–४ स्थित चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने भएको छ ।
ब्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले करिब पाँच रोपनी क्षेत्रमा निर्माण हुने कोर्टका लागि करिब रु. ६८ लाखको लगत इस्टिमेट तयार गरि सकिएको बताएका छन् ।
उक्त कोर्टका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पहिलो चरणका लागि रु. २० लाख विनियोजनसमेत भइसकेको उनले जनाएको छ ।
उक्त बजेट प्राप्त गर्न जिल्ला समन्वय समिति भक्तपुरसँग सम्झौताका लागि अन्तिम चरणमा पुगिसकेको उपभोक्ता समितिका सचिव राधेश्याम खनालले जनाएको छ । उक्त कभर्डहल निर्माण गर्न स्थानीय उपभोक्ताले गत माघमै उपभोक्ता समिति गठन गरेका थिए । कोर्ट निर्माणमा लागि उपभोक्ता समितिले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको उनले बताए ।
यसैबीच, स्थानीय उपभोक्ता समितिले आइतबार स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालासँग भेट गरी कोर्ट निर्माणसम्बन्धी छिटो सम्झौता गर्न ध्यानाकर्षणसमेत गरेको छ । चालु आर्थिक वर्षभित्रै रु. २० लाखको कार्य गर्नुपर्ने भएकाले सम्झौतामा ढिलाइ नगर्न स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गरिएको अध्यक्ष कुइँकेलले जनाएको छ ।
समितिले यस वर्ष काम सुरु भएपछि अन्य क्षेत्रबाट पनि बजेट व्यवस्थापनका लागि सहज हुने बताएको छ । भक्तपुरमै पहिलो कभर्ड हल निर्माण गर्न स्थानीय उपभोक्ता सक्रिय भएर लागेको देखेर आफू पनि प्रभावित भएको स्थानीय विकास अधिकारी कोइरालाले बताएका छन् । उनले जिल्ला समन्वय समितिको सम्पूर्ण प्रक्रिया पूरा गरेर तीनचार दिनमै कभर्डहल निर्माण उपभोक्ता समितिसँग सम्झौता हुने जनाएको छ ।
प्रतिक्रिया