आज शुक्ल पूर्णिमा, स्वस्थानी ब्रत समापन हुँदै, दर्शनार्थीहरूकाे ठूलाे भीड

प्रकाशित मिति: २६ माघ २०७६, आईतवार ०८:४३


काठमाडाैं, माघ २६ ।
पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी ब्रत आज समापन हुँदै छ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् ।

त्यस दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

विधिपूर्वक एक महिने ब्रत गरेका नरनारीले माघ शुक्ल पूर्णिमाका दिन ब्रतअनुसारकाे मनाेकामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्यसमेत दिइन्छ । रातमा जाग्राम बसी देवीको माहात्म्य सुन्ने-सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रही आएकाे छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रात्रीमा जाग्राम बसेर भाेलि सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुनेछ ।

उपत्यकाको पूर्वीभेगस्थित शाली नदीमा पुस शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण ब्रत पनि आजै अश्वमेध यज्ञ गरी समापन गरिँदै छ । यहाँ प्रत्येक वर्ष एक महिने स्वस्थानी मेला लाग्छ, यस वर्षकाे मेला पनि आजै समापन हुने बताइएकाे छ ।

स्वस्थानीको शाब्दिक अर्थ ‘आफू बसेको स्थानको देवी’ भन्ने हुन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपर्युक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोश्राे हातमा खड्ग, तेश्राे हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । ब्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो ।

पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाह योग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भनेअनुसार गर्न सल्लाह दिए ।

विष्णुले महादेव पति पाउन स्वस्थानी ब्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको ब्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ । ब्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त ब्रतकथा प्रचलित हुँदै आएको भनाई छ ।


प्रतिक्रिया

ताजा खबर

More

हाल देशमा जलवाष्पयुक्त हावाको पनि प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, चैत २७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम.....

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....