कीर्तिपुरको नाक काटिएको थिएन

प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार १५:४५


प्रशान्त महासागर नकर्मी
कुनै कुराको लेखोट दुई कुराकै आधारमा लेखिन्छन् (१) सुनेको वा देखेको (२) बुझेको वा बुझाउन भने अर्थहरू आफ्नो स्वार्थमा रचिन्छन् । कलम होस् या तरवार आफ्नो लागि नै बढी तिखार्ने गरेको हामीलाई थाहा नभएको भन्नु मुर्खता नै हुन्छ । र मुर्ख म हुँ भनी चिच्याउँदा पनि शंका वा उपशंकाले हेर्ने चलन भएको नेपाली समाजमा मलाई आफ्ना पुर्खाहरूका नाक काटिएको कुरा पचाउन धेरै गार्‍हो भइरहेको छ भने किन र के–का लागि झूठा कुराहरू लेखिइयो भन्ने सवालमा म अझैँ पनि अनभिज्ञ छु । तर पनि कहीँ कतैबाट देखिएका वा लेखिएका कुराहरू मैले गर्नै पर्छ भनेर मात्र केही प्रस्तुती राखेको हुँ ।

(क) “कीर्तिपुरलाई हराउँदा गोरखालीहरूलाई भएको हैरानीको झोकमा उनीहरूले समातिएका सबै पुरुषको नाक काटी दिए । भरियाहरू मध्ये धेरैको नाक नभएको देखेर यसको कारण पत्ता लगाउनतर्फ हामी लागेका थियौँ ।” (ककपेट्रिक, सन् १७९२)

ककपेट्रिकले जान्न चाहेको कारणका मूल श्रोत हुन् पादरी जिस्सेपी, जसले कीर्तिपुरमा भएको घटनाबारे लेखे (एसियाट्रिक रिसर्च, खण्ड २, पृ. ३१५) जुन कीर्तिपुर युद्धको २५ वर्ष पछि । त्यसमाथी त्यो घटना उनी आफैँले पनि देखेका होइनन्, पादरी माइकल एञ्जेलोले दिएको बयान टिपेका हुन् । अब बिडम्बना यहीनिर छ किनभने एञ्जेलो र जिस्सेपी नै हुन् जसलाई पृथ्वीनारायण शाहले नेपालबाटै धपाएका थिए । नेपालबाट निकालिएका जम्मा ६२ जनामध्ये ती दुई पनि थिए । त्यो कुरा जिस्सेपी आफैँले पनि त्यसको बयानमा लेखेका थिए । फलस्वरूप जिस्सेपीको फट्याईपूर्ण आक्रोश उनकै लेखमा यस्तो छ – म कीर्तिपुरमा सन् १७६९ मा पुग्दा ज्ञानप्रजाले अनेक मानिसहरूलाई झुण्ड्याई रहेको देखेँ । सन् १७६८ मा काठमाडौं जितेर गोरखालीहरू पाटनतिर लागेँ । एउटा कुरा सरासर गलत हो भन्ने कुरा इतिहासमा हुँदाहुँदै पनि हामी कीर्तिपुरेहरूले होइन भन्नसमेत सकिरहेको छैन । आखिर किन…? कीर्तिपुरेहरू हारेको सन् १७६६ मा हो भने सन् १७६८ मा काठमाडौंमा फत्ते हासिल गरेका हुन् ।

(ख) जिस्सेपीको अर्को नमूनालायक वाक्य छ, कीर्तिपुर नामक एउटा वस्ति जहाँ आठ हजार घरहरू भएको ठाउँ । त्यस्तो हो भने त्यो बेलाको संयुक्त परिवार प्रथाअनुसार एक घर बराबर न्यूनतम १० सदस्य मान्ने हो भने पनि कीर्तिपुर जनसंख्या त्यो बेला नै ८० हजार हुनुपथ्र्यो । तर उनी पछिका एक लेखक (हेमिल्टन सन्, १८०३) लेख्छन् – मेरो अनुमानमा कीर्तिपुरको जनसंख्या छ हजार होला । समकालीन अर्थशास्त्री टमस माल्थसको जनसंख्या सिद्धान्तअनुसार हरेक २५ वर्षमा जनसंख्या दोब्बर हुन्छ । त्यसलाई सत्य मान्ने हो भने सन् १७६६ मा कीर्तिपुरको जनसंख्या हुन आउँछ २२ सय ५० मात्र । अब वृद्ध, महिला र बालबालिकाहरूको संख्या एक चौथाई घटाउँदा त्यतिबेलाको कूल युद्ध योग्य हुन आउँछन् पाँच सय ६० जना ।

त्यसैगरी, अर्का लेखक (ओल्डफिल्ड सन्, १८५०) लेख्छन् – कीर्तिपुरको जनसंख्या होला पाँच हजार । माल्थसको सिद्धान्तअनुसार त्यतिबेलाको जनसंख्या हुन आउँछ, छ सय ५० भन्दा केही बढी । अर्थात युद्धयोग्य एक चौथाई भन्नाले एक सय ६५ जना हुन आउँछन् ।

त्यस्तैमा अर्को लेखक (डेनियल राइट सन्, १८६७–१८७७) लेख्छन् – चार हजार जनसंख्या कीर्तिपुरमा थिए । र, माल्थसको सिद्धान्त लागू गर्ने हो भने जनसंख्या नै हुन आउँछ दुई सय ५० जना । अब यसलाई सत्य मान्ने हो भने युद्धयोग्य जवान जम्मा ६३ कीर्तिपुरको जनसंख्या हुन आउँछ । यस अर्थमा जिस्सेपी एक नम्बरको सुन्ने जान्ने देखिन्छ ।

अब सुन्ने जान्ने दुई अर्थात डेनियल राईटकै आधारलाई मान्ने हो भने काटिएका नाकहरूको तौल १७ धार्नी (करिब ८० पाउण्ड) थियो रे । जम्मा आठ सय ६५ जनाको नाक जनसंख्याको आधारमा काटिएको थियो । पहिलो कुरा त यो अंक कथित घटनाको एक शताब्दीपछि दिइएको थियो । दोश्रो कुरा १७ धार्नी बराबर ८९ दशमलव छ सय ७७ पाउण्ड हुन्छ भने ८० पाउण्ड हुन्छन् भन्नु बिल्कुलै गलत हो । र, यो गलत किन भयो भन्ने सवालमा वि.सं. १८९८ मा एक स्थानीयले बनाएको टिपोटमा आठ सय ६५ जना मानिसको नाकको कूल तौल १२ धार्नी एक सय छ तोला लेखिएको थियो । अनि वि.सं. १८३५ मै बुद्धिमानसिंह बस्नेतले बनाएको अर्को टिपोटमा १७ धार्नी सय लेखिएको थियो । उनले दुबै टिपोट ‘फ्यूजन’ गरेको स्पष्टै छ किनभने एक व्यक्तिको नाकको तौल २० देखि २५ ग्राम हुन्छन् । र, २५ ग्रामै माने पनि एक धार्नी बराबर २ दशमलव ३९३ किलोग्रामको हिसाबले १७ धार्नी बराबर ४० दशमलव ६८१ किलोग्राम हुन आउँछ जसको सरासर जनसंख्या जुन नाक काटिएका सत्य हो भने त्यसको संख्या १,६२७ लगभग हुनुपर्छ (र कूल जनसंख्या ६६०८) जुन आठ सय ६५ को दोब्बर भन्दा पनि फरक पर्दैन । अब हामी कीर्तिपुरेहरूले बुझ्ने कुरा यहाँनिर छ कि संसारमा भाषा र व्याख्या फरक भए पनि अर्थ एउटै आउनु पर्छ । यो हाम्रो मात्र होइन जो जहाँ सुकैको बसाई गरेको नै किन नहोस् कसैले ‘एक’ भन्छ भने एउटा नै हुन्छ । कसैले ‘यलभ’ भन्छ त एउटा नै हुन्छ र हामी कीर्तिपुरेहरूले ‘छगू’ अर्थात अर्थमा ‘एक’ नै जनाउँछ । तर, यहाँ वर्णन र विश्लेषणमा देखिएका धार्नी, पाउण्ड, ग्राम, संख्या माथी कहीँ पनि मेल खाएका कुराहरू छैनन् । यसलाई भन्छन्, ढाँटेको कुरा काटे पनि मिल्दैनन् ।

यहीँ नमिलेको कुरालाई एडेन भेन्सिटार्टले खुरुखुरु सन् १८८९ मा सारे झण्डै एक सय २० वर्षपछि, जसलाई धेरै विद्धानहरूले साभार गर्ने गर्छन् ।

त्यस्तो किन भयो भने, लण्डन (सन्, १९२३) ले लेखेका थिए – घटना जिस्सेपीले देखेका थिए । तर जिस्सेपी स्वयम् भन्छन् – अनि आफू त्यहाँ सन् १७६९ मा पुगेका थिए । र, यो घटना सन् १७६६ को थियो । भेन्सिटार्ट स–प्रमाण लेख्छन् – आदेश पालनाको प्रमाणका रूपमा नाकहरू देखाउन पृथ्वीनारायण शाह कहाँ लगियो । तर जिस्सेपीले नै पृथ्वीनारायण शाह त्यो बेला कीर्तिपुरमा नभएर नुवाकोटमा भएको लेखेका थिए । त्यसमाथी अहिले थानकोट त्रिभुवनको सालिक रहेको ठाउँलाई धेरै पछिसम्म “न्ह्याय्द्वँ” (नाकको ढिस्को) भनिन्थ्यो र आगन्तुकहरूलाई देखाइन्थ्यो भनी एक कीर्तिपुरबासीले लेखे ।

नुवाकोटमा बसेर दुई दिन टाढाको युद्धभूमिमा नाक काट्ने बिना प्रमाणको आदेश दियो भन्नु नै तीनलाई बदनाम गर्ने कोशिस हो । र, हामीले बुझ्नु पर्ने कुरा के त भन्दाखेरी त्यत्ति ठूलो महासंग्राममा र सन्त्रासको बेला कसले काटिएको नाक बटुल्ने…? कसले गन्ने…? कसले आफ्नो तराजुमा जोख्ने…? र, १७ धार्नीकै सवालमा के जिउँदो मानिसहरूकै अङ्ग काटेका हुन् त…? चुपचाप काट्न दिई सबै रमाइलो गर्दै थियो त…? कुरा हामीसँग वा हामीलाई दिएको पूर्वजहरूको यथार्थता यस्तै झूठो हामीले अरूलाई भन्नुको अर्थ आफ्ना सन्ततिहरूलाई दिँदै मर्ने नै हो त…? र, अहिलेकै परिवेशलाई हेर्ने हो भने पनि मानिसका अङ्गहरू स्वास्थ्यकर्मी र पोडेहरूले बाहेक अरूले कसैले छुन्नन् । यस्तोमा हामीले हाम्रो बदनामी हल्लाबाट भएको हो भन्न किन चुपचाप अन्त संघर्ष मोड्ने…?

र, इतिहासमा कीर्तिपुर एक पटक हारेको थियो भने युद्ध तीन पटक भएको कुरालाई बिर्सेर “काग र कान” को कुरा हामी किन गर्ने…? इतिहासकै गर्वमा खोतल्दै जाने हो भने पनि हामीमाथी पृथ्वीनारायण शाहको राज हुनु पूर्व हामी कसैबाट शोषित थियौँ भन्ने कुरा कुनै इतिहासबाट लुकेको छैन । हामी बारम्बार आफ्नै यथार्थताबाट हार्दै गएको कुरालाई स्वीकार्न छाडेर भएको भौतिक वा साँस्कृतिक जगेर्नाहरू गर्न छोडी पौराणिक तत्वहरू विनाश वा लुछाचुँडीमा रम्नु हार्नु हो भने नाक काटिएको यथार्थता यहाँनिर छ । तर बुझ्नु पर्ने कुराहरूलाई नबुझी अन्त गन्तव्यहरू मोड्दै जानु वास्तविक अर्थमा हार्नु नै हो । र, त्यो हार कसैले जितेर प्राप्त भएको अंश होइन भन्नुको अर्थ कुनै बेला हामी पाटनको अधिनमा थिए । पृथ्वीनारायण शाहले जितेपछि त्यसका दास बन्यौँ लगत्तै वि.सं. २०४६ सालपछि बैचारिक द्वन्द्वका शिकार हुँदै दासत्वमै रम्दै गयौँ । र, हालसम्म पनि कीर्तिपुर दासत्वमै छ जसको जञ्जिर आपसी बैचारिक यथार्थताले तोड्न सकेका छैनन् । अतः इतिहासमा कहीँ पनि हामीले हारेका छैनौँ भन्ने प्रमाणहरू हामीसँग हुँदाहुँदै पनि हामी हारेकै हौँ मानी भएको अनेकौँ निशानीहरू मास्दै जानु कहाँसम्मको उचित र न्यायोचित कुरा हुन् जुन मैले बुझ्न सकिरहेको छैन । हुन त ठूलो दिमाग भएको मान्छे म पनि होइन । तर पनि लागेको कुरा नभनी चुप बस्ने विचार छैन ।

इतिहासकै पन्नाहरूमा कोरिएको छ कि आजभन्दा ५,००० वर्ष पूर्व यहाँ को थिए र के थिए भन्ने कुराहरू र वस्ति विकासका जीवन्त उदाहरणहरू अझैँ पनि जिउँदै छन्, जसलाई यस्तो हो भन्ने कुनै भाषा र वर्णनको आवश्यक छैन पनि । तर, हामी त्यतातिरको बाटोमा लाग्न छाडेर झूठा भ्रमहरूतिर लागेर गलत व्याख्या हो नै भन्न शब्दहरू सापटी लिई जीवनहरू घस्रिरहेको हेर्दै छौँ । आखिर हामी किन त्यस्तो भयौँ…? जवाफ हामीबीच वा हामीसँगै छ । तर, के भन्ने, खोजिएनौँ । जतिखेर पनि अरूकै कुरालाई खेदो खन्न बुद्धि र विचारहरूलाई खर्चेर प्रयोगमा ल्याईरहेका छौँ । यसले एक त आफूहरू पलायनको शिकार हुनु र अर्को गाउँ–ठाउँको निशानी मेट्नु नै हो भने अरूको झूठा प्रचारहरूले जीवन पाउनु नै हो । त्यसैले त्यतातिरको बाटो परित्याग गरौँ र मैले मेरो जन्म थलोको लागि के गरेँ, के गर्न सक्छु सोचेर अघि बढ्नु नितान्त आवश्यक छ । र, त्यो सोच व्यक्ति विशेष हुनु हुँदैन जसको कारण स्वार्थहरूले रूपलाई क्रूर र रङ्गलाई कालो हो भनी देखाउने अवसर पाउन सक्छ किनभने त्यस्तो अवस्थामा धेरै कुराहरू नमिलेकै हुन्छन । भन्नुको अर्थ नमिलेकै इतिहास पनि आजसम्म हो भन्नु आदि आदि ।

यो भनेको लेख्न जान्नेले लेखिएका तर, कुनै प्रमाण पाउँदा वा जुधाउँदा एकसँग अर्को नमिलेका यथार्थताहरू जसलाई दुई अर्थले कोरिएका भन्ने स्पष्ट वा सहजै अनुमान लगाउन सकिन्छ । (१) कसैको क्रूरता वर्णन गर्न खोजिएको वा क्रूरता सुनाउँदा अगाडिको शत्रु वा कोहीँ राजाको मनोबल घटाएर युद्ध सहज ढङ्गले जित्नु, (२) इतिहास लेख्ने बेला इशारालाई शब्द बनाउनु जस्तै कि हामीले पनि प्रयोग गरिएका शब्द ‘थुथाःमथाः चुगु ल्वहँ’ जहाँ चिप्लेको ढुङ्गा भन्ने प्रचारमा हामी लागी रह्यौँ भने त्यहीँ शब्द इशारा भाषा जसलाई “न्ह्याय् वन” वा “इज्जत गयो” वा “Noise cut” लेख्ने वा बुझ्नेहरूको स्वार्थमा प्रयोग हुँदै गए जुन व्यक्ति विशेष स्वार्थको यथार्थता म भन्छु । र कीर्तिपुरको युद्धकै सवालमा हार कसको र जित के–को भन्ने प्रमाणहरू धेरै छन् । तर, हामीले राम्रो कुराको अनुशरण गर्न छाडेर नराम्रोको बढी प्रचारबाजी गर्नेतिर लागी परेका छौँ जुन एक अर्थमा आफूबाटै आफैँ हार्नु हो भने राज्य गुमाउनु पनि त्यहीँ हो । र, मेरो दुःख, अर्थहीन आवाजहरू गुञ्जिनु र त्यही शब्दहरू मानव स्वर भन्नु नै हो ।

र, कीर्तिपुरको इतिहास जुन कथामा वर्णन हुँदै गए एक अर्थमा धुलो सिसाभरी छर्केर दृश्य धमिलो कार्य देखाउने दुष्प्रयासहरू व्यापक हुँदै गए, के–का लागि गरेका हुन् । यो हामीले खोज्नुपर्छ र बुझ्नुपर्छ । अर्को, पृथ्वीनारायण शाह क्रूर नै थिए भन्ने कुनै कुरा पुष्टि नै हुन्छ भने पनि हामीसँग होइन भन्ने प्रमाणको रूपमा केही खोसिएका हतियारहरू छन् नै जुन प्रदर्शनीमा राखेर पनि तिनका कोही सन्तान दरसन्तानले खोस्न नआउनु सायदै क्रूरताको निशानी होइन होला । अर्को, अभिलेखहरू, शिलालेखहरू हुनुले वा जीवन्त इतिहास थुप्रै भेटिनु वा चलिरहनुले पनि कोही व्यक्ति बदनामीको पात्र बनेकै हो भन्न म रुचाउँछु । अतः सबै सुन्नु पर्छ, सुनेपछि राम्रो लिनुपर्छ, लिएपछि राम्रो दिनुपर्छ । यो मनुष्य हुनुको वास्तविक धर्म पनि हो । र, म धर्म कुनै सिद्धान्त व्याख्या मान्दिन । अर्को राजनीति सिद्धान्त मात्र होइन व्यावहार पनि हो यदि मनुष्यमा प्रयोग गर्ने हो भने…।

अन्तमा, युद्ध तीन पटक भए । एक पटक पृथ्वीनारायण शाहले जितेको सत्य हो । तर, दुई पटक कसले जिते वर्णनमा छुटेकै हो । र, पृथ्वीनारायण शाहको लक्ष्य नेपाल भूमि कब्जा हो, कब्जा गरी राजा बन्नु थियो, बनेकै हो । तर, राज्य विस्तार वा एकीकरण भन्नु गलत हो । त्यस्तै पाटनबाट मुक्ति पाई शाहको दास भएकै हो भने अहिले बैचारिक बिखण्डन भई पृथ्वीनारायण शाहले काट्न नसकेको नाक कसरी काट्ने सोच्दै इतिहासका धरोहर जसलाई क्षणिक न्यानो ताप्दै विस्थापित हुँदै गइरहेको यथार्थता हो । र, पूर्खा हाम्रा सम्पन्न र स्वाभिमान थिए भन्ने कुरा आज हामीहरूले कुरूप र फोहर बनाउँदै बाँच्न सिकेका यथार्थताले ऊजागर गर्छन् । साथसाथै भौतिक पूर्वाधारहरू भत्किँदै जानु वा साँस्कृतिक पर्वहरूप्रति वितृष्णाहरू जाग्नु वा पानीका अथाह मुहानहरू हुँदा नि चिन्तन नहुनु वा कसैले कब्जामा लिएका अनेक घटनाहरूले मेरो कीर्तिपुरलाई मबाट जोगाउनु खाँचो छ । मेरो कीर्तिपुरको नाक मैले नै काटेको हुँ जुन वर्तमानमा सबैले आ–आफ्नो स्वार्थबाट सिद्ध गरेको यथार्थता हो । यसको अन्त्य मेरो वा हाम्रो अन्त्य पर्खिनु नभईकन आपसी सद्भावमा आएको कमीलाई हटाएर गलत व्याख्यालाई धिकार्नु नै हो । अनि मात्र इज्जत जोगिन्छ । नाक रहन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

गरिमा विकास बैंकद्वारा नयाँ वर्षमा ग्राहकलाई दराजबाट सामान खरिदमा १५% सम्म छुट

काठमाडौं, चैत २२ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास.....