रङ्गहरूकाे पर्व हाेली धूमधामसँग मनाइँदै

काठमाडाैं, फागुन २६ ।
होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा मनाइन्छ । होली रङ्गहरूको विशेष चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास पनि रहेकाे छ ।
होली खेल्ने दिन भन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । असत्यमाथि सत्यकाे जितकाे रूपमासमेत मनाइने याे पर्व स–साना नानीहरूदेखि वृद्ध–वृद्धासम्म सबैले होलीको मजा लिने गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् ।
भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फागुनको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ ।
होली पर्व घरपरिवार-साथीभाई आपसमा रङ्गमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ्ग र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाईलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गिन पर्वको रूपमा लिइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको बसन्तपुर दरबार र ललितपुरकाे कृष्णमन्दिर अगाडि चीर-विशेष रूपले सजाएको लिङ्गो गाडेपछि होली सुरु भएको मानिने फागु पर्व पूर्णिमाको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको मानिन्छ ।
प्रतिक्रिया