सयौँ कार्यकर्तामाझ माओवादी केन्द्रका सत्तरी जनाले संयुक्त राजीनामा

सिन्धुपाल्चोक, माघ १३ ।
माओवादी केन्द्र सिन्धुपाल्चोकले बुधबार सदरमुकाम चौतारामा आयोजित प्रथम एकता भेलामा उपस्थित सयौँ कार्यकर्तामाझ केन्द्रीय आयोजिक समितिमा रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्यको पदबाट एकैपटक ७० जनाले संयुक्त रूपमा राजीनामा पत्रमा हस्ताक्षर गरी राजीनामा पत्र दिएका छन् ।
उक्त जिल्ला भेलामा विशेष प्रस्ताव राख्दै केन्द्रीय सदस्य युवराज दुलालले पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति भद्दा देखिएको उल्लेख गर्दै त्यसलाई चुस्त बनाई प्रक्रियाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न आयोजक समितिमा रहेका ७० जनाले राजीनामा दिएका हुन् ।
पोलिट्ब्यूरो सदस्य तथा जनसाँस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्रीले विधिभन्दा पनि दानमा पद दिने चलन रहेको बताउँदै त्यसलाई पार्टीले सच्याओस् भनेर राजीनामा दिएको बताउँदै उनले फेसबुकमा स्टाटससमेत लेखेर भनेका छन्, ‘लामो समयदेखि हामी युवाहरूले पार्टी संगठनलाई वैज्ञानिक विधिमार्फत अघि बढाउन निकै नै संघर्ष गर्यौ । तर परिणामतः सफल हुन सकेन । बरु संगठन अत्यन्तै भद्रगोलतातिर उन्मुख हुँदासमेत नेतृत्व यसप्रति उदासिन रहिरहयो र पद बाँड्ने दानबीर हुनुमा उत्साहित भइरहयो ।’
सोही भेलाबाट ती सारा दानमा प्राप्त पद (केन्द्र र पोलिटब्यूरो) संस्थागत रूपमै सिन्धुपाल्चोकबाट सबैले फिर्ता (राजीनामा) गर्ने निर्णय लिइएको र यसको मूल उद्देश्य केन्द्रीय कार्यालयबाट पारित कार्यविधि कार्यान्वयन गर्न सहयोग पुर्याउनु भएका सबैमा आभार भएको उनले लेखेका छन् ।
उनीहरूले एक/दुई दिनमै पार्टी केन्द्रमा पनि सो राजीनामा पत्र बुझाउने कार्यक्रम रहेको बताए ।
प्रतिक्रिया