शहीद स्मारक ‘ए’ डिभिजन लिग : भाेलिदेखि तेश्राे चरणकाे खेल सुरु हुने

काठमाडाैं, मंसिर १६ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेश्राे चरणका खेल भोलि शुक्रबारदेखि सुरु हुने भएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगका तेश्राे चरणका खेल काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
चार दिनसम्म चल्ने तेश्राे चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका सार्वजनिक भएको छ ।दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोश्राे खेल तथा दिनको एक मात्रै खेल साँझ पौने ५ बजे हुनेछ ।
भाेलिको पहिलो खेलमा फ्रेण्ड्स क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । यस्तै, दोश्राे खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब लगातार दुई खेलमा पराजित भई पुछारमा रहेको एपीएफ फुटबल क्लबसँग भिड्नेछ ।
पर्सि शनिबारको पहिलो खेलमा दोश्राे स्थानको संकटा क्लबले शीर्षस्थानको मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती दिनेछ । सोही दिनको दोश्राे खेलमा च्यासल युथ क्लबले उपाधिमा दाबी गरेको न्युरोड टीम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।
तेश्राे चरणअन्तर्गत आइतबार हुने एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको आक्रामक शैलीको दवाब खेप्नेछ । एन्फाले २० मंसिरमा तय दुई खेललाई भने दुई दिन धकेल्दै २२ मंसिरमा पुर्याएको छ । रङ्गशालामा युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएसँगै तेश्राे चरणका अन्तिम दुई खेल सारिएका हुन् ।
बुधबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । सोही दिन हुने तेश्राे चरणको अन्तिम खेलमा लगातार दोश्राे खेलमा पराजित जावलाखेल युथले साबिक बिजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।
प्रतिक्रिया