पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८ सय औँ गोल
काठमाडाैं, मंसिर १७ ।
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८ सय औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इङ्गलिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।
गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन गर्दै आर्सनललाई ३-२ गाेल अन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा ब्रुनो फर्नाण्डेजले १ गोल गरे । आर्सनलको लागि इमिली स्मिथ रोव र मार्टिन ओडेरार्डले १-१ गोल गरे ।
योसँगै रोनाल्डोले आफ्नो करियरकै ८ सय गोल पूरा गरेका छन् । ८ सय गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । रोनाल्डोले १ हजार ९७ खेलमा यो कीर्तिमानी बनाएका हुन् ।
खेलको १३ मिनेटमा आर्सनलका स्मिथले गोल गर्दै सुरुवाती अग्रता बनाए । ४४ मिनेटमा युनाइटेडका ब्रुनोले १-१ गाेल अन्तरमा खेल झारे । ५२ मिनेटमा रोनाल्डोले कीतिमानी ८०० गोल तथा युनाइटेडलाई २–१ गाेलको अग्रता दिलाए । दुई मिनेट पछिनै ५४ मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई २–२ को अवस्थामा ल्याए ।
तर, स्टार खेलाडी रोनाल्डोले पुन: गोल गरेपछि युनाइटेड घरेलु मैदानमा छैटौँ जित निकाल्न सफल भयो । यस पटक रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए ।
जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौँ स्थानमा रहेकाे छ । पराजित आर्सनलले २३ अंकसहित पाँचौँ स्थानमा रहेको छ । आर्सनलले चौथो स्थानमा उक्लने अवसर समेत गुमाएको छ ।
प्रतिक्रिया