मान्छेकाे चाहना र ईच्छालाई मार्नु हुन्न, बरु डटेर अघि बढ्नु पर्छ : साहित्यकार अमर

प्रकाशित मिति: ९ माघ २०७८, आईतवार १७:१६


साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन “अमर” विगत साढे ३ दशकभन्दा बढी समयदेखि नेपाली साहित्य एवं गीत, संगीतमा निरन्तर पाईला चाल्दै नेपाली साहित्य क्षेत्रमा अमूल्य योगदान दिँदै आएका छन् । साहित्यकार अमरले नेपाली साहित्य क्षेत्रमा गर्नुभएको अमूल्य योगदानको कदर गर्दै विभिन्न संघसंस्थाहरूले उहाँको योगदानको कदर गर्दै निरन्तर यस क्षेत्रमा थप पाईला चाल्दै अझ उचाईमा पुग्न सकून् भन्ने हेतुले उहाँलाई अनगिन्ती सम्मान–पत्र, कदर पत्रलगायत मायाको चिनोसमेत प्रदान गरेका छन् ।

बुबा जुजुभाई र आमा मायादेवी महर्जनको कोखबाट वि.सं. २०२९ साल जेठ १८ गते काठमाडौंमा जन्मिनु भएका साहित्यकार अमरको अडियो, भिडियो, उपन्यास, कविता, हाइकु र तान्कालगायत गीति चलचित्र पनि निर्माण भइसकेका छन् । उहाँले नेपाली भाषामा मात्र सीमित नभई आफ्नो मातृभाषाको पनि सम्मान गर्दै दुई वटै भाषामा आफ्नो कलम चलाउँदै आएका छन् ।
उहाँको नेपालभाषामा ‘लुमु मतिना’‘मतिनाया खँ’ पनि प्रकाशन भइसकेका छन् भने नेपालीमा ‘प्रेमको भाइरस’‘स्माइल ड्रिम’लगायत धेरै उपन्यासहरू लोकप्रिय भएका थिए । यहीँ क्रममा साहित्यकार अमरसँग लाईभ अफ नेपालले गरेको संक्षिप्त अन्तर्वार्ता यहाँ प्रस्तुत गरेका छौँ ।

n तपाईं अहिले के–मा व्यस्त हुनुहुन्छ ?
è म सानो उमेरदेखि नै यस साहित्य क्षेत्रमा लगाब भएका कारण म यस क्षेत्रमा प्राय व्यस्त नै रहेको हुन्छु । अहिले तत्कालै भन्ने हो भने एउटा उपन्यास छाप्ने काम सम्पन्न भइसकेको छ । अबको एक/दुई महिनाभित्र एउटा कार्यक्रमकाबीच सार्वजनिक गर्ने तयारीमा रहेको छु भने गीति एल्बमको कार्य पनि करिब–करिब अन्तिम चरणमा पुगेको छ । यसका साथसाथै पनि मेरो कलम चलाउने काम भने रोकिएको छैन । कहिले कविता त कहिले गीत लेख्ने कार्यमा प्राय म निरन्तर कलम चलाइरहेकै हुन्छु ।

n प्राय रचनाकार वा साहित्यकारहरू कि त गीतमा मात्रै आफ्नो कलम चलाउनु हुन्छ कि त साहित्यमा मात्र तपाईंले यी सबै क्षेत्रमा कसरी समय मिलाईरहनु भएको छ ?
è हामी सबैले सुनेकै कुरा हो कि भगवानले पनि भन्नुहुन्छ । तँ चाहना गर म पूरा गर्छु । त्यस अर्थमा म पनि कथा लेख्दा त्यसलाई पूर्णता दिएपछि मात्र अरू गीत लेखे गीतलाई पूर्णता दिन्छु र उपन्यास लेखे उपन्यासलाई पूर्णता दिने गर्छु । त्यसकारणले पनि मलाई कति वटा क्षेत्रमा कसरी लाग्ने भन्ने कुनै संकोच वा कुनै अप्ठ्यारो महशुस मलाई लाग्दैन ।

n श्रोताहरूले तपाईंको कुन विधालाई बढी मन पराएको पाउनु भएको छ ?
è यसलाई पनि भगवानको कृपा नै मान्नुपर्छ कि दर्शक तथा पाठकहरूले मेरो हाइकु, तान्का, मुक्तकलगायत उपन्यासलाई पनि त्यत्तिकै प्राथमिकता दिएको पाएको छु । मेरो नेपालीमा पहिलो उपन्यास भनेको ‘अनुष्का’ हो । जुन उपन्यासलाई धेरैभन्दा धेरै पाठकहरूले मन पराईदिनु भएको छ । त्यस्तै, अडियोमा पनि लाखौँ लाख श्रोताहरूले मन पराउनु भएको छ । थुप्रै लोकप्रिय गीतहरू आफूले सफलतापूर्वक दर्शकको सामु पस्किन सक्नु म आफ्नो सफलता पनि मान्छु र दर्शकहरूले त्यसलाई आत्मसात गरी मन पराईदिनु भएकोमा उहाँहरूलाई पनि हार्दिक नमन गर्न चाहन्छु ।

n ‘तान्का’ विषयमा थोरै स्पष्ट गर्दिनु हुन्छ कि ?
è पक्कै पनि यो तान्का साहित्य क्षेत्रमा अलि कम नै सुनेकाले पनि होला अलि नौलो जस्तो चाहि लाग्छ पनि । तर, जसरी जापानबाट हाइकु भित्रियो त्यसरी नै यो ‘तान्का’ पनि जापानबाटै आएको हो । तर, हामीले बुझेका छौँ कि हाइकु लेख्दा ५, ७ र ५ अक्षरको लेख्छौँ भने यो ‘तान्का’मा भने ५, ७, ५ का साथै थप ७ र ७ अर्थात ३१ अक्षरको हुन्छ । अर्को कुरा भनेको नेपाली साहित्य क्षेत्रमा हाइकु जत्तिको ‘तान्का’ प्रचार–प्रसारमा अलि कम मात्र देखिएकाले पनि कसै–कसैलाई यो नौलो नाम जस्तो लागेको मात्रै हो ।

n तपाईं करिब साढे ३ दशकदेखि यस क्षेत्रमा लागेर के पाउनु भयो र के गुमाए जस्तो लाग्छ ?
è वास्तवमै भनौँ भने अहिलेसम्म मैले केही नपाए जस्तो लाग्दैन । सबै पाएरै म अहिलेसम्म यस क्षेत्रमा निरन्तर रूपमा कलम चलाउँदै आइरहेको छु । यस क्षेत्रमै लागेर आफूले गीति कथा, कविता, हाइकु र उपन्यासलगायत करिब २८ वटा कृति प्रकाशन गर्न सफल भएको छु, यो नै मेरो ठूलो उपलब्धि हो । र, यसैकारणले आफ्नो एउटा छुट्टै पहिचान बनाउन पनि सफल भएको छु ।

n भनिन्छ, हरेक क्षेत्रमा पाईला टेके पनि आर्थिक कुरा अगाडि आउँछ, यसमा तपाईं के भन्नुहुन्छ ?
è भनिन्छ नि, जहाँ ईच्छा, त्यहाँ उपाय । जब मान्छेको चाहना र ईच्छा हुन्छ, त्यसलाई कसैले चाहेर पनि नकार्न सकिन्न । बरु आफूले दिनको दुई छाक खाने ठाउँमा एक छाक खाएर पनि आफ्नो चाहना र ईच्छालाई दुनियाँ सामु उजागर गरेरै छाड्छ । यस्ता धेरै उदाहरणहरू हामीले देखेका पनि छौँ र सुनेका पनि छौँ । तर, आफ्नो जुन अठोट छ त्यसलाई छाड्नु हुन्न । एउटा उखान पनि छ, बरु चरेश खानु जिन्दगीमा कहिले पनि हरेश नखानु भनेजस्तै हो ।

n अहिलेको २१ औँ शताब्दीमा सूचना प्रविधिले छलाङ्ग हानिसकेको छ, यस्तो परिस्थितिमा पुस्तक प्रकाशनलाई कसरी प्रतिक्रिया जनाउनु हुन्छ ?
è अवश्य पनि हामी अहिले सूचना प्रविधिसँगै अगाडि बढिरहेका छौँ तर, पनि यो प्रकाशनको पाटो एउटा छुट्टै छ जस्तो लाग्छ मलाई । जब मैले गीत लेखे यदि त्यो गीत गायक वा गायिकाले नगाइदिएको भए पुस्तकमा मात्रै सीमित हुन्थ्यो । त्यसैले सूचना प्रविधि र प्रकाशनको पाटोलाई एउटै ठान्नु पनि उपर्युक्त नहोला कि जस्तो लाग्छ । उदाहरणको लागि हामी बिहानै घरबाट बाहिर निस्कन्छौँ तर, अन्तिममा आएर आफ्नै घरमा आएर बस्नु पर्छ । चाहे जत्तिसुकै आफूसँग पैसा होस् या नहोस् । त्यसैले सूचना प्रविधि आफ्नो स्थानमा छ भने पत्र–पत्रिकालगायत पुस्तक प्रकाशन पनि छुट्टै छ जस्तो कि एउटा सिक्काको दुइटा पाटो जस्तै हो ।

n तपाईंले अहिलेसम्म श्रृजना गर्नुभएको कृतिहरू नेपालमा मात्रै सीमित छन् कि देश–विदेशमा पनि ?
è धन्यवाद प्रश्नको लागि, तपाईंले एकदमै मनको कुरा सोध्नु भएको छ । अवश्य पनि देश–विदेशमा छरिएर रहेका नेपालीहरूले मेरा धेरै कृतिहरू मनपराउनु भएको छ । कोही बेलायत, थाइल्याण्ड, अमेरिकालगायत देशहरूबाट जब उहाँहरू आफ्नो मातृभूमि नेपालमा पुनः पाईला टेक्नु हुन्छ र मलाई फोन गरेर एकपटक भेटौँ न सर भन्नुहुन्छ र आफू एकदमै मन प्रफूलित भएर उहाँहरूसँग भेटेर भलाकुसारी गर्दै मेरो कृतिका बारेमा कुराकानी गर्नुहुन्छ । अझ अगाडि बढिरहन प्रोत्साहित गर्नुहुन्छ । यदि उहाँहरू जस्तो पाठकहरू आज मेरो साथ नभएको भए यस क्षेत्रमा पाईला चाल्न मुश्किल पनि हुन्थ्यो कि । मैले गरेको श्रृजना र कृतिहरू देश–विदेशमा पुगेर नै उहाँहरूको साथ र हौसला पनि निरन्तर रूपमा पाईरहेको छु ।

n कति व्यक्तिहरू यस क्षेत्रमा लागेर निराश पनि भएका छन्, उहाँहरूलाई के भन्नुहुन्छ ?
è निराश भनेको कुनै पनि चीजमा हुनु हुँदैन । जब जीवनमा एकपटक मानव भएर जन्म लिएपछि त्यसको सदुपयोग हामीले गर्नैपर्छ । घोडा चढ्ने मान्छे लड्छ त्यसको मतलब यो होइन कि घोडा चढ्न नै छाड्ने ? चाहे कोही व्यक्ति गायन क्षेत्रमा होस्, संगीत क्षेत्रमा होस् या त साहित्य क्षेत्रमा निराशले कुनै पनि काम बन्दैन । बरु बन्ने काम पनि बिग्रिन्छ । त्यसैले निराश भएर होइन कि बरु एकदम निडर भएर म यो कामलाई सफलताको उचाईंमा पुर्‍याउँछु भनेर डटेर लाग्नुपर्छ ।

n यसै क्षेत्रमा लागेर यदि कसैले आफ्नो जीवन निर्वाह गर्न चाहन्छ भने उहाँहरूलाई के सुझाव दिन चाहनु हुन्छ ?
è अहिलेको समय परिस्थितिमा यहीँ क्षेत्रमा लागेर आफ्नो जीवन यापन गर्न अलि गार्‍हो नै छ । अहिले देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले आर्थिक अवस्था शिथिल बन्दै गइरहेको छ । महँगी बढ्दै गइरहेको छ । अर्कोतर्फ करिब दुई वर्षको लकडाउनले नेपाली जनता आजित भइसकेका छन् । अहिले फेरी कोरोनाको तेश्रो लहर ओमिक्रोन भेरिएन्टले थप जटिलता उत्पन्न गराएको छ । विश्वभर महामारीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । नेपालमा पनि यसले ठूलो प्रभाव पारिरहेको छ । बजारभरी लकडाउनको हल्ला छ । त्यसकारण अबको केहीँ वर्ष यसै क्षेत्रमा लागेर मानिसले आफ्नो जीवन यापन गर्न धेरै नै गार्‍हो देखिन्छ । तर, धैर्यता भने टुटाउनु हुँदैन । कष्ट सहने क्षमता पनि हुनुपर्छ र आफ्नो श्रृजनालाई पनि निरन्तरता दिँदै गर्नुस् ।

n यस क्षेत्रमा लागेर तपाईंले अहिलेसम्म बिर्सनै नसक्ने खुसीको क्षण…
è खुसी त म हरदम नै छु । तर, पनि बिर्सनै नसक्ने र धेरै खुसी भएको पल भनेको २०४६ सालतिरको कुरा हो । मेरो पहिलो रचना पहिलो पटक एउटा ‘नयाँ ज्योति’ भन्ने साप्ताहिक पत्रिकामा छाप्दा म एकदमै खुसी भएको थिएँ । जुन म अहिलेसम्म पनि सम्झिने गर्छु ।

n अन्त्यमा तपाईंका पाठकहरूलाई केहीँ सन्देश…
è अबको केहीँ समयमा मेरो कृति गीति नाटक जुन एक नयाँ कथानक चलचित्रको रूपमा दर्शक दीर्घा माझ आउँदै छ । त्यसलाई हेरेर प्रतिक्रिया दिनुहोस् भन्न चाहन्छु र तपाईंहरूको साथ र सहयोग मलाई सधैँ दिइरहनुस् । केहीँ सल्लाह सुझाव भए माया नमारीकन दिनुहोस् भन्न चाहन्छु । धन्यवाद ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे कपनबाट कटुवा पेस्ताेलसहित २३ वर्षीय युवा पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडाैं महानगरपालिकाको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना.....