महानगरपालिकाको आग्रह : अत्यावश्यक बाहेक बाहिर ननिस्कौँ

विराटनगर, श्रावण १ ।
विराटनगर महानगरपालिकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । विराटनगर क्षेत्रभित्र कोरोनाको संक्रमितको संख्या बढेको जनाउँदै महानगरपालिकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन र स्वास्थ्यका मापदण्ड पालना गर्न नगरबासीलाई आग्रह गरेको छ ।
विराटनगर महानगनरपालिकाले प्रकाशित गरेको सूचनामा कोरोना संक्रमण न्यूनिकरणका लागि अत्यावश्यक नभई घर बाहिर ननिस्कन, अनावश्यक भिडभाड नगर्न, भौतिक दूरी कायम गर्न तथा अनिवार्य मास्कको प्रयोग गर्न नगरबासीलाई आग्रह गरेको छ । भारतसँग सीमा जोडिएका कारण भारतमा कोरोनाका संक्रमित बढेसँगै विराटनगरमा पनि कोरोनाका संक्रमितको संख्या बढ्दै गएको छ ।
केही दिन पहिले विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीमा कोरोनाको संक्रमण फैलिएको पाइएको थियो । कैदीबन्दीमा उच्च ज्वरोको लक्षण देखिएसँगै कोरोना परीक्षण गर्दा ५४ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको पाइएको छ । पछिल्ला दिनहरूमा तीब्र रूपले कोरोनाको संक्रमण बढ्न थालेपछि कोरोनाको चौथो लहर सुरु भएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउन थालेका छन् ।
कोरोनाको चौथो लहर निक्कै संक्रमक रहेकाले कोरोना धेरै छिटो फैलन सक्ने भन्दै सचेत रहन आग्रहसमेत गर्दै आएका छन् । प्रदेश १ मा हाल कूल सक्रिय संक्रमित १ सय ३५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७४ जना संक्रमित फेला परेका छन् भने मोरङमा ४९ जना संक्रमित फेला परेका छन् ।
जसमध्ये विराटनगरका मात्रै ४४ जनामा संक्रमण भएको पाइएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया