शहीदहरूको सपनालाई सम्मान गर्न हामी चुक्नु हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, माघ १६ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयनमार्फत आन्दोलनका उपलब्धि संस्थागत गर्नका लागि हामी सबै हातेमालो गरी अगाडि बढ्नुपर्ने बताएका छन् ।
शहीद दिवसका अवसरमा सन्देश दिँदै उनले नेपालमा भएका विभिन्न आन्दोलनहरूको उपलब्धिका रूपमा प्राप्त उपलब्धिलाई रक्षा गर्न जोडसमेत दिए ।
प्रधानमन्त्री दाहालद्वारा जारी सन्देश
नेपाल र हामी सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो । शहीद दिवस, २०७३ को यस अवसरमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपाललाई वर्तमान अवस्थासम्म ल्याउन र हामीलाई अहिले प्राप्त स्वतन्त्रताको स्थापनामा महान् शहीदहरूको योगदान उच्च रहेको छ । देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् शहीदहरूको योगदान सधंँ स्मरणीय रहनेछ ।
राणाकाल सुरु हुनु पूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकालविरुद्धका चरणबद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोश्रो जनआन्दोलन, १० वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् शहीदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन शहीदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुनेछ भन्ने विश्वास लिएको छु ।
यसका लागि शहीदहरूको बलिदानको उच्च सम्मानका साथ उहाँहरूको सपनालाई साकार पार्ने कार्यमा हामी सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक छ । यस अवसरलाई हाम्रो राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीहरूले अपनत्व महशुस गर्न सकुन् भन्ने उद्देश्यले सरकारले त्यसतर्फ निरन्तर प्रयास गरिरहेको छ । आजको ऐतिहासिक दिनबाट शान्ति र विकाससहितको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित शहीदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न म सबैमा हार्दिक आव्हान गर्दछु ।
प्रतिक्रिया