आफूले प्रलोभनमा पार्ने कुनै अभिव्यक्ति नदिएको अध्यक्ष नेपालको स्पष्टीकरण

काठमाडौं, कार्तिक ६ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई जवाफ फर्काएका छन् । चुनाव प्रचारको क्रममा मतदातालाई प्रलोभन देखाउने गरी अभिव्यक्ति दिएपछि आयोगले सोधेको स्पष्टीकरणबारे नेपालले आफूले प्रलोभनमा पार्ने कुनै अभिव्यक्ति नदिएको दाबी गरेका हुन् ।
उनले आज आयोगलाई चार बुँदे स्पष्टीकरण जवाफ दिएका छन् । ‘निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार वा मतदाता वा निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन,’ नेपालले दिएको स्पष्टीकरणमा भनिएको छ, ‘मैले कसैलाई कुनै किसिमको लोभलालच वा आर्थिक प्रलोभन देखाउन कुनै काम कारबाही गरको छैन । अतः उक्त पत्रमा भनिए जस्तो अभिव्यक्ति मैले दिएको छैन ।’
आयोगले निर्वाचन प्रचारको क्रममा नेपालले आचार संहिता उल्लंघन हुने गरी मतदातालाई फ्रि भिसा र फ्रि टिकटको प्रलोभन देखाएको भन्दै स्पष्टीकरण सोधेको थियो । आयोगले रौतहट प्रहरीलाई आवश्यक कारबाहीको प्रक्रिया चलाउन पत्रसमेत लेखेको थियो । रौतटहमा भएको चुनावी सभामा नेपालले फ्रि भिसा फ्रि टिकटको कुरा उठाएको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रतिक्रिया