नाउपाका संरक्षक रेशम चाैधरी रिहा, पक्राउकाे नक्कली पत्र लेख्ने सर्वाेच्चका शाखा अधिकृत पक्राउ

काठमाडाैं, बैशाख १७ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रबाट आज बुधबार दिउँसो प्रज्ञा भवनबाट पक्राउ परेका चौधरी साँझ डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता सभामा सहभागी हुन प्रज्ञा भवन गएका बेला उनी एकाएक पक्राउ परेका थिए ।
सर्वोच्चले आधिकारिक पत्रमार्फत् यसअघिको पत्र अनधिकृत भएको र सो पत्रका आधारमा पक्राउ परेका भए रिहा गर्न भनेको थियो ।
‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च. नं. १९२७७, मिति २०८२।१।१७ मा कैदमा राख्न पठाइएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साबिक दुर्गौली गाविस वडा नं.-८ हाल जानकी गाँउपालिका वडा नं.-६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनु हुन अनुरोध छ,’ प्रहरी महानिरीक्षकलाई बोधार्थ दिएको पत्रमा भनिएको थियो ।
चौधरीलाई पक्रन ‘नक्कली पत्र लेख्ने’ सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह बिष्ट भने यतिखेर जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रणमा रहेका छन् । बिष्टलाई सर्वोच्च अदालत सुरक्षा ईकाइले पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो ।
उनले टीकापुरका हत्या भएको व्यक्ति सम्झेर सो नक्कली पत्र लेखेको प्रारम्भिक बयान दिएका छन् । उनीमाथि थप अनुसन्धान जारी रहेको छ ।
प्रतिक्रिया