सरकार र आन्दाेलनरत् शिक्षकबीच सहमति

काठमाडाैं, बैशाख १७ ।
सरकार र आन्दोलनरत् शिक्षकहरूबीच सहमति भएको छ । सिंहदरबारमा भएको छलफलमा सरकार र शिक्षकबीच सहमति भएको हो ।
सहमतिको ड्राफ्ट लिएर शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि निस्किएका छन् । वार्तास्थलबाट निस्किने क्रममा उनले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका हुन् । गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री पन्त आन्दोलनरत् शिक्षकसँग वार्ता गर्न बसेका थिए ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि वार्ता सकारात्मक भएको बताए । उनले आज बुधबार नै सहमति गरी सार्वजनिक गर्ने तयारी गरिरहेको बताएका छन् ।
शिक्षकका माग मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गरिने बताइएको छ । त्यसकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठकसमेत डाकेका छन् ।
शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूसँग ९ बुँदे सहमतिमा पुगेको जानकारी दिएका हुन् ।
वार्तापछि आज बुधबार पत्रकार सम्मेलनमा उनले शिक्षकहरूको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने बताए । सहमतिबारे प्रधानमन्त्री केपी ओलीले बारम्बार जानकारी लिने गरेको र निर्देशन दिने गरेको भन्दै शिक्षामन्त्री पन्तले धन्यवाद दिए ।
मन्त्रिपरिषद्ले सहमति अनुमोदन गरेसँगै २९ दिनदेखि जारी शिक्षक आन्दोलन टुंगिएको छ र उनीहरू कार्यक्षेत्रमा फर्किने भएका छन् ।
प्रतिक्रिया