क्रिकेटका पूर्वकप्तान लामिछानेविरुद्ध १२ वर्ष कैद सजाँय मागसहित बलात्कार मुद्दा दर्ता

काठमाडौं, कार्तिक १४ ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाँय माग गर्दै बलात्कार मुद्दा दर्ता गरिएको छ ।
आज काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेको हो । प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरुद्ध अनुसन्धान सकेर कार्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरु भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन ।
प्रहरीले उनीविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ जबर्जस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाँय मागदाबीसमेत गरेको प्रहरीले जनाएको छ ।
उक्त उफ दफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाँय मागदाबी गरेको हो ।
भाद्र ५ गते राति सन्दीप पीडित किशोरीसँग होटेल काठमाडौं इनमा प्रवेश गरेको फुटेज प्रहरीले फेला पारेको छ । साथै प्रहरीले भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुटेज बरामद छ ।
ती अनुसन्धान अधिकृतकाअनुसार अनुसन्धानको क्रममा राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको देखिएको छ ।
राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुनेछ ।
गएको भाद्र २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीन पटक म्याद थप गरी अनुसन्धान भएको छ ।
सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन् ।
प्रतिक्रिया