जनताले नयाँ भिजन र काम गर्न सक्ने दक्ष उम्मेदवार खोजेका छन् : कृष्णलाल महर्जन

प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहीबार १०:३४


यही वि.सं. २०७९ साल मंसिर ४ गते हुन गइरहेकाे प्रतिनिधि सभा सदस्यअन्तर्गत लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं.–२ को प्रत्यक्ष उम्मेदवार श्री कृष्णलाल महर्जनसँग निर्वाचन लक्षित गरी लाईभ अफ नेपाल डट नेटले उहाँसँग गरिएकाे विशेष अन्तर्वार्ताकाे सारांश यहाँ प्रस्तुत गरिएकाे छ ।

n
स्वागत छ यहाँलाई लाईभ अफ नेपालको विशेष अन्तर्वार्तामा ।

@ धन्यवाद ।

n यसपालीको चुनावमा हजुर उठ्नुको मुख्य कारण के हो ?
@ कारण धेरै छन् । तर विशेष कारण भन्नु पर्दा कोभिडको कारण मैले गर्नुपर्ने काम अझै केही बाँकी नै रहेको छ । त्यसलाई पूर्णता दिन र जनताहरूको आर्थिक स्थितिलाई सुधार्न आधुनिक शहरको विकास र विस्तार गर्न, जनताको समस्यालाई सहज र सरल तरिकाले समाधान गर्नको लागि मैले यो उम्मेदवारी दिएको हो ।

n लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ, जितको आशा कतिको रहेको छ ?
@ म शत प्रतिशत जितको विश्वासमा छु । जित्नकै लागि मैले उम्मेदवारी दिएको छु ।

n तपाईंले नै जित्नुको कारण के–के छन् ?
@ कारण भन्नु पर्दा म एक नम्बरमा जनताको चासोको विषयमा हरदम उहाँहरूको साथमा निरन्तर रूपमा लागिपरेको चीर–परिचित व्यक्ति हुँ । दोश्रो भनेको गठबन्धनको पूर्ण रूपमा साथ रहेको छ । योभन्दा अगाडिको चुनावमा पनि म जनताको विश्वासको मत जित्न सफल भएको व्यक्ति हुँ । तेश्रोमा अरूको भन्दा बेग्लै किसिमको एजेण्डा बोकेर म अगाडि बढेको छु ।

n अरू उम्मेदवारको भन्दा फरक एजेण्डा भन्नुभयो, त्यो कस्तो एजेण्डा हो ? स्पष्ट पार्दिनुस् न…
@ अवश्य पनि । मेरो एजेण्डाहरूमा यस ललितपुर क्षेत्र नं.–२ लाई स्वच्छ, सफा र हराभरा ललितपुर शहर बनाउने मेरो पहिलो एजेण्डाको रूपमा रहेको छ भने यसका साथै सडकलाई उच्च स्तरमा विकास निर्माण र मर्मत सम्भार गर्ने, बेरोजगारहरूलाई रोजगारको श्रृजना गरी विदेश पलायन हुनबाट रोक्ने र युवाहरूलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने, समाजवादका आधारमा सामाजिक/आर्थिक रूपान्तरण गर्ने र नयाँ योजना छनोट गरी त्यसलाई कार्यान्वयनमा ल्याउने, पर्यटकीय राजधानी भएका कारण लाकुरी भञ्ज्याङ्गलाई पनि पर्यटनको आकर्षण क्षेत्र बनाउने, लुभू क्षेत्रलाई टेक्सटाइल हबको रूपमा विकास गर्ने, कर्मनाशा, गोदावरी, मनोहरामा कोरिडोर खोल्ने, यसैगरी, ग्वार्कोमा फ्लाई ओभरको जुन पहिलादेखिको भिजन थियो त्यसलाई पूर्णता दिने, यो क्षेत्र साँस्कृतिक शहर भएका कारण यहाँ भएका हस्तकला, शिल्पकला, काष्ठकला, मूर्तिकलालाई संरक्षण र प्रबर्द्धन गरी निःशुल्क तालिमको साथै उत्पादित वस्तुलाई सहज रूपमा बजारीकरण गर्नेलगायतका रहेका छन् ।

n घोषणा पत्रमा उल्लेख भएअनुसार एजेण्डा एकदम राम्रो छ तर, कार्यान्वयनमा जहिले पनि आशंका उब्जिन्छ, कारण के होला ?
@ म चुनाव जित्नको लागि मात्र उम्मेदवारी दिएको होइन । म नयाँ केही गरौँ र जनताको सेवामा हरदम समर्पित भएर लाग्छु भन्ने आत्मविश्वासका साथ आएको हुँ । सबै नेताहरूको बारेमा म यसै त भन्न सक्दिनँ तर, म यति विश्वस्त छु कि मैले दिएको बचन रामबाण जस्तै सत्य र निष्ठापूर्वक पालना गरेर अगाडि बढ्ने छु भनी म प्रतिबद्ध भएर लागेको छु ।

n पहिला पनि बाम गठबन्धनबाट जित्नुभयो, अहिले पनि लोकतान्त्रिक गठबन्धन गर्नुभयो, कतै यहाँहरूको स्वार्थ पनि चुनाव जित्नको लागि मात्रै त होइन ?
@ पक्कै पनि यो स्वार्थको लागि गरिएको लोकतान्त्रिक बाम गठबन्धन होइन । हामीले यो गठबन्धन गर्नुको कारण लोकतन्त्रलाई जोगाउनको लागि गरिएको हो । तपाईंहरूले पनि प्रत्यक्ष रूपमा देख्नु भएकै कुरा हो । हाम्रा केपी ओलीले संसद् नै विघटन गरेर लोकतन्त्रलाई नै धरापमा पार्ने घृणित कार्य गर्नुभयो । त्यसैको बाबजुद पनि हामी लोकतन्त्रलाई माया गर्नेहरू एकजुट भएर लागि परेका हौँ । यसैको फलस्वरूप शान्ति र स्थायित्वको लागि यो लोकतान्त्रिक बाम गठबन्धन गरिएको हो ।

n के यो गठबन्धनबाट शान्ति र स्थायित्व रहला र ? कतै यो गठबन्धन पनि भोलि गएर भागबण्डामा अल्झिने पो हो कि ?
@ हामी भागबण्डा भन्दा पनि देशको आर्थिक क्रान्तिका लागि अग्रसर भएका छौँ । र, हामीले के आशा गरेका छौँ भने हाम्रो केपी ओलीले जस्तो अन्तरघात कसैले पनि भुलेर पनि गर्ने छैन । यो गठबन्धनले नै देशमा आमूल परिवर्तन ल्याउन सफल हुनेमा म र मेरो नेकपा (एकीकृत समाजवादी) पार्टी शत प्रतिशत विश्वस्त छौँ ।

n ललितपुर क्षेत्र नं.–२ मा जनताले हजुरलाई कसरी नियालिरहेका छन् जस्तो लाग्छ ?
@ मेरो क्षेत्रमा मलाई जहाँसम्म लाग्छ । सबै जना सकारात्मक हुनुहुन्छ । मेरो राजनीतिक जीवनमा मैले अहिलेसम्म गरेका कार्यको पूर्ण रूपमा मूल्याङ्कन गर्दै उहाँहरूले मलाई मेरो चुनाव चिन्ह ‘कलम’मा मत दिएर भारी मतले जिताउनु हुन्छ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु । कारण म सबैलाई समान व्यावहार र सम्मान गर्ने व्यक्ति हुँ, कसैलाई दुःख पर्नु भनेको मेरो आफ्नै दुःख हो भनेर जनतालाई साथमा लिएर हिँडेको व्यक्ति हुँ । यो कुरा मेरा प्यारा मतदाताहरूलाई थाहा छ कि यो नै हो हाम्रो सुख र दुःखको साथी भनेर मलाई यसपटक पनि यो जित हाम्रो जित भनेर मलाई साथ दिएर यहाँसम्म पुर्‍याएका हुन् ।

n हजुरलाई थाहा नै छ, पछिल्लो केही समय स्वतन्त्रको माहौल पनि व्यापक बन्दै गइरहेको छ, के यो राजनीतिक पार्टीप्रतिको वितृष्णा पैदा भएको हो त ?
@ यहाँले एकदमै राम्रो समसामयिक प्रश्न सोध्नु भयो । यसको लागि धन्यवाद छ । यो राजनीतिक पार्टीप्रतिको वितृष्णा भन्दा पनि जनताले नयाँ भिजन र काम गर्न सक्ने दक्ष उम्मेदवार खोजेका हुन् । र, त्यो सबै गुण मप्रति उहाँहरूले देखेकै कारण र अरूभन्दा दक्ष भएकै कारण जनताले पुनः एकपटक उहाँहरूले मेरो काम कर्तव्यको मूल्याङ्कन गर्नेछन् । र, मलाई विश्वास पनि छ । उहाँहरूले मलाई ‘कलम’ चिन्हमा छाप लगाएर अत्याधिक बहुमतले विजयी गराउनु हुनेछ भन्नेमा म उहाँहरूप्रति पूर्ण रूपमा आशावादी पनि छु ।

n र, अन्त्यमा छुटेका वा मतदाताहरूलाई भन्नै पर्ने केही कुरा छन् कि…
@ म यति मात्र भन्न चाहन्छु कि, यदि तपाईंहरूले मलाई विश्वास गरेर यसपटक मेरो चुनाव चिन्ह ‘कलम’मा अमूल्य मत दिएर विजयी गराउनु भयो भने मैले दिएका सम्पूर्ण बाचा र मैले गरेका सबै प्रतिज्ञाहरू दूधको दूध र पानीको पानी जस्तै छर्लङ्ग हुने गरी शत प्रतिशत म पूरा गर्नेछु । यसमा कुनै द्विविधा र कुनै दुई मत हुने छैन । यसका लागि यही आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो मताधिकारको सही रूपमा सदुपयोग गरी आफ्नो नैसर्गिक अधिकारलाई सुनिश्चित गर्नुहुन्छ भन्नेमा आशावादी हुँदै पुनः एकपटक ललितपुर क्षेत्र नं.–२ का सबै मताधिकारीहरूलाई विगतमा मैले निभाएको भूमिका, काम र कर्तव्यको सही मूल्याङ्कन गरेर ‘कलम’ चिन्हमा स्वष्तिक छाप लगाई आफ्नो मतको सही सदुपयोग गरी सही उम्मेदवार छान्नु हुन्छ भन्ने आशाका साथ सबैलाई मेरो स–हृदयदेखि नमन र सबैप्रति मेरो हार्दिक आभार प्रकट गर्न चाहन्छु । धन्यवाद ।


प्रतिक्रिया

ताजा खबर

More

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित एक कोइला खानीमा दुर्घटना हुँदा.....