फेसबुकमा साथी बनाएर अश्लीलता प्रदर्शनकाे करकापमा पार्ने भक्तपुरका २५ वर्षीय त्याेछिन पक्राउ

काठमाडाैं, पाैष १३ ।
सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.-९ बस्ने २५ वर्षीय सुमन त्योछिन रहेका छन् ।
आरोपित त्योछिनले पीडित भनिएकी महिलालाई फेसबुकमा साथी बनाई अश्लीलता प्रदर्शन गर्न करकाप गरेको तथा अन्य महिलाको नग्न तस्वीरमा पीडितको टाउको जोडी पीडितलगायत पीडितका आफन्त तथा साथीको फेसबुक मेसेञ्जरमा उक्त फोटो पठाउने गरेको पाइएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।
यस्तो गतिविधिबाट आफूलाई मानसिक तनाव, दुःख, हैरानी पुगेको भन्दै पीडित महिलाले ब्यूरोलाई उजुरी दिएकी थिइन् ।
सोही उजुरीअनुरूप आरोपित त्योछिनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पक्राउ गरिएको हो । यस घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया