हामी नेपाली सुनमाथि सुतेर नुन खोज्न बाध्य छौँ : अध्यक्ष खेमबहादुर बुढाथोकी

प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार १३:४३


ललितपुरको कुपण्डोलमा स्थापित सामाजिक संस्था “देश निर्माण युवा समाज नेपाल”ले छोटो अवधिमा आफ्नो संस्थालाई अग्रसर बनाएर समाजमा उदाहरणीय छाप छोड्न सफल भएको छ । करिब डेढ वर्षको अवधिमा यस संस्थाले धेरै नै योगदानमूलक कार्य गरेर सबैको मन जित्न सफल मात्र भएन । त्यत्तिकै रुमलिएर हिँडिरहेका युवा साथीहरूलाई संस्थामा आबद्ध बनाएर बेरोजगार साथीहरूलाई रोजगारसमेत दिन सफल भएको छ । यसै सन्दर्भमा लाईभ अफ नेपालले संस्थाका संस्थापक अध्यक्ष एवम् साहित्यकार खेमबहादुर बुढाथोकी ‘शिशिर’सँग गरिएको संक्षिप्त अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

अध्यक्षज्यू, यहाँलाई आजको यस विशेष अन्तर्वार्तामा हार्दिक स्वागत छ ।
धन्यवाद । मलाई आफ्नो मनको कुरा राख्ने र संस्थाको बारेमा केही कुरा बोल्ने सुवर्ण अवसर दिनु भएकोमा यस अनलाईन न्यूज पोर्टल र हजुरलाई पनि धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।

यस संस्थाले छोटो अवधिमा नै यति धेरै उदाहरणीय सामाजिक कार्यहरू गर्न सफल भएको छ । यसको मुख्य कारण के होला ? र, यो संस्था कसरी स्थापना भयो ?
प्रश्नको लागि पुनः एक पटक धन्यवाद दिन चाहन्छु हजुरलाई । यसको प्रमुख उद्देश्य भनेको विभिन्न जातजाति, धर्म, संस्कृति, भाषा अनि हिमाल, पहाड, तराईका युवाहरूलाई एकताबद्ध गरी सभ्य समाज निर्माण गर्दै समृद्ध नेपाल बनाउनु नै हो । समाजमा रहेका व्यापक विकृति/विसंगति र भ्रष्टाचार जस्ता कुप्रथालाई जरैदेखि उखेलेर फाल्न सके मात्र देश निर्माण हुन्छ भन्ने हाम्रो मूल नारा हो । यही यावत कुरालाई मध्यनजर गर्दै हामीले यस संस्थाको स्थापना गरेका हौँ ।

तपाईंको विचारमा देश निर्माणमा युवाहरूको भूमिका के–कस्तो हुन सक्छ ?
युवाहरू भनेको देशको मेरुदण्ड हो । देशका प्रमुख शक्ति भनेकै युवाहरू नै हुन् । आजसम्म जति पनि परिवर्तनहरू भएका छन् । युवाहरूकै आँड र बलमा भएका छन् । यो कुरालाई हामीले नकार्न सकिँदैन । युवाहरूले नै देश थामिरहेका छन् । तर, हाम्रो समाजको बिडम्बना नै मान्नु पर्छ कि, हाम्रा देशका युवाहरू सधैँ आराम गरेर बस्नुपर्ने, लौरो टेकेर घाम ताप्ने उमेर भएका बुढा नेताहरूको गुलाम बनिरहेका छन् । जसका कारण देशका कैयौँ युवाहरू मात्र गाँस, बास, कपासको लागि आफ्नो घर-परिवार आफन्त छोडेर विदेश पलायन हुन बाध्य छन् । यो देशको लागि ठूलो दुर्भाग्य अनि अत्यन्तै दुःखद् कुरा हो ।

दिनानुदिन बाध्यताबश बाहिरीरहेका युवा शक्तिलाई रोक्न यहाँहरूले कस्तो कदम उठाउनु हुन्छ अब ?
आफ्नो देशमा काम गरेर आफ्नो देशलाई धनी बनाउनुको सट्टा विदेशी देशहरूलाई धनी बनाइरहेका छन् हामी नेपाली युवाहरूले । त्यसैले हामीले युवाहरूलाई विदेश जानबाट रोक्नुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो । त्यही उद्देश्यअनुरूप नै हामी के भन्छौँ भने मात्रै गाँस, बास र कपासकै लागि महिनामा ५०/६० हजार कमाउन भनेर आफ्नो देश छोडेर खाडी मुलुक पस्नु पर्दैन, मेहनत गरेको खण्डमा लगन र शीप भएमा नेपालमै पनि आफ्नै घर-परिवारसँग बसेर कमाउन सकिन्छ । यहाँ गरे नहुने केही छैन । हामी सम्पूर्ण युवाहरूलाई यही सल्लाह दिन्छौँ कि, हामी युवाहरूलाई शीप र क्षमताअनुसारको उद्यमी र व्यावसायिक बनाउन खोजिरहेका छौँ । साथै, नेपाल एक कृषि प्रधान देश भएकोले कृषिबाटै आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आधुनिक कृषि पेशाको बारेमा उचित परामर्श दिएर उत्पादित कृषि उपजहरूको उचित मूल्यमा बजार व्यवस्थापन पनि हामीने नै गरिदिन्छौँ । मात्र उहाँहरूले हिम्मतका साथ अगाडि बढ्ने प्रण गर्न जरुरी छ ।

युवाहरूकै सक्रियतामा देशमा ठूलठूला परिवर्तन सम्भव भएको कुरालाई नकार्न सकिन्न तर, परिवर्तनका बाबजुत पनि जनताको उन्नति र देशको विकास हुन नसक्नुको कारण के हो ?
मुख्य कारण त, नेपालको अस्थिर राजनीति र भ्रष्टाचार नै हो । अर्कोतिर नेताहरूको कुर्सि मोह र व्यवस्था परिवर्तन भए तापनि व्यक्ति परिवर्तन नभएकाले देशले विकासका गति लिन नसकेको हो । जबसम्म नेतृत्व युवाको हातमा हस्तान्तरण हुँदैन तबसम्म जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान जस्तै हुन्छ । यो परिस्थितिले देशको विकास कुनै पनि हालतमा सम्भव छैन ।

भनेपछि, भोलि आएर यो संस्था पनि राजनीतिमा होमिने पक्का छ । अनि, देशका यी यावत् समस्याको समाधान गर्न उच्च पदमा पुगेर देशको आमूल परिवर्तन गर्ने सोच यस संस्थाको उद्देश्य रहेछ ?
हजुरले यो के भन्नु भएको । यो कुरा शत् प्रतिशत गलत हो । हामी विशुद्ध राजनीति बिना नै देशको मुहार फेर्न भनेर हामी युवाहरू एकताबद्ध भएर यो संस्थालाई जन्माएका हौँ । हामी कुनै पनि हालतमा राजनीतिको ‘र’ पनि यसमा गन्ध आउन दिने छैन । हजुरले यो कुरा लेखेरै राख्नुस् । देशको परिवर्तन गर्न र देशको मुहार फेर्न राजनीति नै गर्नुपर्छ भन्ने जुन मानिसको सोच छ । यसलाई हामी ढिलो चाँडो परिवर्तन गरेरै देखाउँछु । यो कुरा सत्य हो कि, हाम्रो संस्था भर्खरै जन्मेको संस्था हो । समय लाग्छ तर, परिवर्तन गरेर मानिसको मन मस्तिष्कमा यो कुराको छाप लगाउँछु कि वास्तवमा ‘देश निर्माण युवा समाज नेपाल’ले साँच्चिकै हिम्मत र आँट गरेकै हो । हाम्रो हिम्मत र हौसलाले एक-एक गरी युवा जमातहरू काँधमा काँध मिलाएर आएन भने म स्वयम् पनि यो संस्थाको अध्यक्ष भएर बस्नु लाजमर्दो हुनेछ । विस्तारै यसमा आबद्ध भएर आउनेमा हाम्रो कुनै दुविधा छैन । र, अर्को कुरा भनेको हाम्रो यस संस्थामा जति पनि साथीहरू कार्यसमिति या सदस्यहरू छन्, कोही पनि कुनै पनि राजनीतिक दलमा आबद्ध छैन । हजुर आफैँले पनि यसमा सूक्ष्म रूपले हेर्न सक्नुहुन्छ । र, रहयो कुरा राजनीति आफैँमा नराम्रो चीज भने होइन । यसलाई केही तत्वहरूले नराम्रो बनाइएको मात्र हो ।

त्यसो भए, द्रूत गतिमा देशलाई विकसित र समृद्धशाली बनाउन के गर्नुपर्ला ?
हामी नेपालीहरू सुनमाथि सुतेर नुन खोज्न भौतारी रहेका छन् । हाम्रो देश नेपाल प्राकृतिक, श्रोत साधन र सौन्दर्यमा विश्वकै धनी देश मात्र नभई जलश्रोतको दोश्रो धनी देश पनि हो । यही प्राकृतिक श्रोत र साधनको अधिकतम् प्रयोग गर्न सके मात्रै पनि ३ करोड नेपालीलाई बसी-बसी खान पुग्छ । यति मात्र नभई हाम्रो देश नेपाल भगवान् गौतम बुद्धको जन्मथलो, शान्ति भूमि नेपाल र विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देश विश्व सामु प्रचार-प्रसार गरी विश्वका पर्यटक भित्र्याएर मनग्गे आम्दानी गर्न सकिन्छ । जसको लागि सिस्टम मिलाउनु पर्‍यो, सिस्टम बनाएर अघि बढ्नु पर्‍यो । अर्को कुरा भनेको हामी आत्मनिर्भर बन्नु पर्‍यो । हाम्रो देश एक कृषि प्रधान देश भइकन पनि हरेक वर्ष अरबौँको कृषि उपजहरू मित्र राष्ट्र भारत र चीनबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ । योभन्दा ठूलो बिडम्बना अर्को के हुन सक्छ । हामीले निर्यात गर्नुपर्‍यो । कमसेकम स्वदेशमा उत्पादन गर्न सकिने जति नेपालमै उत्पादन गर्नु पर्‍यो, विदेशी होइन स्वदेशी सामानको प्रयोगमा जोड दिनु पर्‍यो । अनि मात्र देशको विकास सम्भव हुन्छ । खुट्टा तान्ने प्रवृतिलाई पनि जरैदेखि उखेलेर फाल्न सक्नु पर्‍यो ।

समाजसेवा भनेको आफैँमा गाह्रो काम हो, यसका लागि धन र मन दुबै नङ र मासु सरह हुन्छ । के तपाईंहरू धन भएर समाजसेवामा लाग्नु भएको हो कि मन भएर ?
हेनुस्, हामी जति जना पनि यो संस्थामा आबद्ध छौँ । सबै जना धन प्रशस्त भएर होइन कि, देशको स्थिति र समाजको दूरावस्था देखेर जुन सरकारले गर्नुपर्ने काम र कर्तव्य हामीले सेवाभावले गरिरहेका छौँ । हामी जति पनि छौँ, सबै जना निम्न आयस्तर भएका सानो तिनो व्यावसाय र जागिर गर्ने व्यक्तिहरू छौँ । हामीले हाम्रो अनावश्यक खर्च कटौती गरेर खाजा खर्च जोगाएर बचेको रकम सङ्कलन गरी विभिन्न सामाजिक कार्यहरू गर्दै देश निर्माणको यो महान् अभियानमा लागि परेका छौँ ।

यस संस्थाले हालसम्म गरेका काम र कर्तव्यहरू के-के छन्, संक्षिप्तमा भन्दिनु हुन्छ कि ?
संस्था स्थापनाको करिब डेढ वर्षको समयावधिमा करिब २५/३० वटा जति कार्यक्रमहरू हामीले सफलतापूर्वक सम्पन्न गरिसकेका छौँ । जसमध्ये अनाथ बालबालिकाहरूलाई न्यानो कपडा वितरण, सरसफाई तथा फोहरमैला व्यवस्थापन, वृहत् रक्तदान, वृद्धाश्रममा रहेका बुबा–आमाहरूलाई खानाको व्यवस्थासहित विभिन्न सामानहरू वितरण, जनचेतनामूलक कार्यक्रम, मठ–मन्दिर तथा सडक सरसफाईलगायत बेरोजगार युवाहरूलाई आफ्नो क्षमताअनुसार विभिन्न माध्यमबाट रोजगार श्रृजना गरिदिएका छौँ ।

धेरैको गुनासो पनि छ । संस्थाले काम त गर्छ है, तर, संस्थाको नाम भने देश निर्माण युवा समाज नेपाल रे तर, कोपुण्डोलमा मात्रै सीमित छ भन्नेको धेरैको जिज्ञासा पनि छ, यसरी कसरी सम्भव हुन्छ र ?
हजुरले एकदमै राम्रो प्रश्न उठाउनु भएको छ । धन्यवाद छ यसको लागि । कुरा सही हो । हामीले संस्था दर्ता गर्दा कोपुण्डोल, ललितपुरमा कार्यालय खोलेर गरेका हौँ । यसकारण यहाँ अन्त भन्दा केही बढी कार्यक्रम सञ्चालन भएकाले पनि कतिपय साथीहरूले कोपुण्डोल क्षेत्रमा मात्र सीमित भयो भन्ने भान पर्न गयो । तर, वास्तविकता यो होइन । यसभन्दा अगाडि पनि अनगिन्ती रूपमा ललितपुरभन्दा बाहिर पनि कार्यक्रम गरेँ, नगरेको होइन तर, हामीले धेरै प्रचार-प्रसार गर्नु पनि हामीलाई उपर्युक्त लागेन त्यसकारण पनि यस्तो शंका उत्पन्न भएको हुन सक्छ । यथाशीघ्र रूपमा हामीले काठमाडौं उपत्यकाबाहेक बाहिरी जिल्लामा पनि संगठन विस्तार गर्दैछौँ र त्यहाँ पनि विभिन्न निःशुल्क हेल्थ क्याम्प, स्थानीयबासीहरूको कमी-कमजोरीलाई मध्यनजर गर्दै त्यहाँको समयानुकूल सहयोगदेखि लिएर विभिन्न कार्यक्रमका साथै सचेतनामूलक कार्यक्रम पनि गर्दैछौँ र, हामी विस्तारै देशव्यापी रूपमा अगाडि बढ्न हामी एकजुट पनि भइसकेका छौँ तर, यो कार्य केही ढिला पनि हुन गयो । कारण भन्नुपर्दा मुख्यतः देशमा कोभिड-१९ को महामारी, त्यसलगत्तै डेँगुको संक्रमण र मौसमको अनुकूलताका कारण हामीले केही धैर्य गर्नुपर्ने अवस्थाले गर्दा केही सुस्त भएको जस्तो अनुभूति पर्न गएको मात्र हो । तर, यो कोपुण्डोलमा मात्र सीमित छैन । हाम्रो संस्थामा ७६ वटै जिल्लाका साथीहरू कार्यसमितिलगायत सदस्यहरूमा आबद्ध छन् । म स्वयम् पनि दोलखाको व्यक्ति हुँ, उपाध्यक्ष काभ्रेका छन्, कोही उदयपुरका छन् भने कोही तनहुँका छन् । यो कुरा यहाँ भनेर सम्भव पनि नहोला । कसले भन्छ कोपुण्डोलमा मात्रै सीमित भयो भनेर ? हजुरले हेर्दै जानुस् अबको केही वर्षभित्र यो संस्थाको नाम राम्रो कार्यको लागि सबै नेपालीको मुखमा झुण्डिने छ । हामीहरू स्वार्थका लागि लागेका व्यक्तिहरू होइनौँ, हामी देश विकास गर्न र युवा जमातलाई एकै ठाउँमा उभ्याएर देशको मुहार फेरेरै देखाउँछु भन्ने प्रणका साथ लागि परेका व्यक्तिहरू हौँ ।

अन्त्यमा, मनमा लागेका र केही छुटेका कुरा छन् कि…
भन्ने कुराहरू त धेरै नै छन् तर, हामी कुरा मात्रै गर्दैनौँ, कुराभन्दा बढी हामी काम गरेर देखाउँछौँ । जति पनि सामाजिक कार्यलगायत अन्य कार्य गर्छौँ त्यो मात्र जनसेवा र राष्ट्रहितको लागि काम गर्छौँ । त्यसैले हामी सबै नेपाली युवाहरूलाई आव्हान गर्न चाहन्छु कि आउनुहोस्, हामी युवाहरू हातमा हात मिलाएर, एकजुट भएर देश निर्माणमा प्रतिबद्ध भएर लागौँ ।
र, अन्त्यमा यही आउँदो फागुन २० गते शनिबारका दिन ललितपुरको कोपुण्डोलस्थित कानदेवतास्थान परिसरमा यस संस्थाले दोश्रो वृहत् रक्तदान तथा निःशुल्क दन्त शिविर कार्यक्रम राखेका छौँ । यसमा सबैजना मन खुलेर हामीले गरेको यस सामाजिक कार्यमा दिल खुलेर सहभागिता जनाएर सहयोग गरीदिनु हुन म सबैमा हार्दिक अपिल गर्दै हजुरको चर्चित अनलाईन न्यूज पोर्टल लाईभ अफ नेपालप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु । धन्यवाद ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई पक्राउ गर्न.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....