मन्त्रीपरिषद्को बैठक सम्पन्न, मधेश आन्दोलनका मुद्दा फिर्ता

काठमाडौं, जेठ ४ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सो बैठकले थरुहट आन्दोलन र मधेश आन्दोलनलाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार गर्ने निर्णय गरी आन्दोलनमा संलग्नहरूविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको हो । मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।
सरकारले सेना तथा प्रहरीले सञ्चालन गरेको स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णय पनि गरेको छ ।
त्यस्तै जलवायु परिवर्तनको अनुकुलन कार्यक्रम अघि बढाउन चुरे संरक्षण गुरुयोजना निर्माण गर्ने निर्णय भएको र सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका दुई जनालाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
काभ्रेको नमोवुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गरिएको हो । सरकारले उनीहरूको छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया