चुनाव जितिसकेको पद खोसिँदा… (पत्रसहित)

जाजरकोट, जेठ ५ ।
लामो संघर्षपश्चात चुनाव जितेका एक नेताको २४ घण्टा पनि नपुग्दै पद खोसिएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नं. २ को खुला वडा सदस्यमा बिजेता घोषणा गरिएका बलराम वलीको पद २४ घण्टा पनि नबित्दै खोसिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले मत परिणाम घोषणा गल्ति भएको भन्दै मतपरिणाम उल्टाएको हो । अघिल्लो दिन सार्वजनिक गरेको भन्दा भोलिपल्ट सूचना प्रकाशित गरेर भुल बस भएको भन्दै अर्कैलाई बिजेता घोषणा गरेको छ ।
सूचनाअनुसार बढी मत प्राप्त गर्नेलाई बिजेता घोषणा नगरेर कम मत प्राप्त गर्नेलाई बिजेता घोषणा गरिएको हो । बाहिर बलराम र उनका शुभ चिन्तकसहित नेता कार्यकर्ता मत परिणामको व्यग्र प्रतिक्षा गरिरहेका थिए । त्यसपछि विजयी भएको परिणाम घोषणा भएपछि नारा लगाउँदै विजयी जुलुस लिएर आफ्नो घर फर्किएका उनले आफन्त तथा शुभचिन्तकलाई भोजसमेत खुवाएका थिए ।
तर बिहीबार निर्वाचन अधिकृतको कार्यालयले गल्ति भएको भन्दै पूर्णबहादुर खत्रीलाई बिजेता घोषणा गरेपछि उनी छाँगाबाट खसे जस्तै भए । दुबै जना माओवादी केन्द्रबाट उम्मेवार रहेका थिए । यसअघि खुला सदस्यमा नेपाली कांग्रेसका तारालाल रोकाय र माओवादी केन्द्रका बलराम वलीलाई विजयी घोषणा गरिएको थियो ।
बलरामले ५ सय १६ मत प्राप्त गरेको र उनीभन्दा दुई मत बढी अर्थात ५ सय १८ मत ल्याएका पूर्णबहादुरलाई बिजेता घोषणा गर्नुपर्नेमा कम्प्यूटर टाइपमा गल्ति भएकोले फेरी मत परिणाम सच्याएर पूर्णबहादुर खत्रीलाई बिजेता घोषणा गरेको जनाइएको छ ।
प्रतिक्रिया