भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेमकिपाकै प्रजापति र जोशी विजयी

भक्तपुर, जेठ ६ ।
भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदूर किसान पार्टीका सुनिल प्रजापति भारी मतको अन्तरले विजयी भएका छन् ।
गएराति १० बजे सार्वजनिक गरिएको मत परिणामानुसार २५ हजार ५ सय ६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा अत्याधिक बहुमतले विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५ सय ३२ र एमालेका बिष्णु सुवालले ४ हजार २ सय १० मत प्राप्त गरे ।
त्यसैगरी, उपप्रमुखतर्फ नेमकिपाकै रजनी जोशीले २५ हजार ६ सय ५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी हासिल गरेकी छन् ।
जोशीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गङ्गालक्ष्मी अवालले ६ हजार ५ सय ६० र एमालेकी कृष्णमाया त्वायनाबासुले ६ हजार ५ सय ८७ मत प्राप्त गरेकी छन् ।
विगतमा नेमकिपाका केन्द्रीय सचिव, सांसद् हुँदै प्रजापति अहिले नगर प्रमुखमा विजयी भएका हुन् । ख्पव इञ्जिनियरिङ कलेजको उपप्राचार्यबाट राजीनामा दिएर आएकी जोशी उपप्रमुख भएकी थिइन् ।
त्यसैगरी वडा नं. १० मा नेमकिपाका लक्ष्मीप्रसाद ह्योमिखा २ हजार १ सय १३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णकुमार सुवालले ४ सय ३२ र एमालेका पूण्यराम घटुवले ३ सय ५० मत प्राप्त गरेका छन् । नेमकिपाबाट वडाका महिला सदस्यमा २०४६ सालको जनआन्दोलनका शहीद पुष्परत्न शाक्यकी श्रीमती विजयलक्ष्मी शाक्य तथा अन्यमा ज्ञानकुमार मगजु र जितेन्द्र मुनकर्मी विजयी भएका छन् ।
नगरपालिकामा १० वटै वडामा नेमकिपाले विजय हासिल गरेको छ । कूल ५२ हजार ९ सय ३० मतदाता रहेको नगरपालिकामा ४४ हजार १ सय ८६ मत खसेको थियो ।
प्रतिक्रिया