प्रधानमन्त्री दाहालले मत खसालेको वडामा एमाले विजयी

काठमाडौं, जेठ ७ ।
स्थानीय तह निर्वाचनमा कैयौं स्थानमा सोचेको भन्दा फरक परिणाम आउने क्रम जारी नै रहेको छ ।
प्रधानमन्त्रीको वडामा एमाले
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मत खसालेको चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ को वडाध्यक्षमा एमाले उम्मेदवार हरिप्रसाद आचार्य निर्वाचित भएका छन् ।
कांग्रेस उम्मेदवार उपेन्द्र शर्मालाई सात मतले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । उनले एक हजार सात सय २० मत पाए भने शर्माले एक हजार सात सय १३ मत पाए । प्रधानमन्त्रीको दलले ९३५ मत पायो ।
एमाले अध्यक्ष ओलीको वडामा कांग्रेस
एमाले अध्यक्ष केपी शर्मा ओलीले मत खसालेको भक्तपुरको सूर्यविनायक नगरपालिका–२ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार कमलनाथ आचार्य विजयी भएका छन् । १७ मतअन्तरमा उनले एमाले उम्मेदवारलाई पराजित गरेका हुन् । आचार्यले एक हजार तीन सय ८५ र उनका प्रतिद्वन्द्वी एमालेका रबि श्रेष्ठले एक हजार तीन सय ६८ मत प्राप्त गरेका थिए ।
राप्रपा अध्यक्ष कमल थापाको वडामा कांग्रेस
राप्रपा अध्यक्ष कमल थापाको मतदाता नामावली भएको मकवानपुर हेटौँडा उपमहानगरपालिका–५ को वडाध्यक्षमा कांग्रेस उम्मेदवारले चुनाव जितेका छन् ।
कांग्रेस उम्मेदवार राजेश बानियाँ एक हजार आठ सय ४८ मत ल्याएर वडाध्यक्षमा विजयी बने । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार ईश्वर ढुङ्गानाले एक हजार सात सय ४४ मत पाए । थापाकै दल राप्रपाले जम्मा तीन सय ४० मत ल्यायो ।
डा. रामशरण महतको वडामा एमाले
कांग्रेस पूर्वसहमहामन्त्री डा. रामशरण महतको मतदाता नामावली रहेको नुवाकोट पञ्चकन्या गाउँपालिका–२ मा एमाले विजयी भएको छ । सो वडामा एमाले उम्मेदवार ध्रुब मिश्र सात सय ३९ मत ल्याएर विजयी भए ।
उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रामशरण श्रेष्ठले छ सय ४३ मत ल्याएका थिए ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया