इन्द्रजात्रा अवलाेकनका लागि भगिनी सम्बन्ध भएका देशका २० जना बिदेशी पाहुनालाई आमन्त्रण

काठमाडाैं, असाेज ८ ।
काठमाडौं महानगरपालिकाले काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना बिदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ । इन्द्रजात्राका सन्दर्भमा आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनी सम्बन्ध भएका चीन, अमेरिका, जापानलगायत देशका विभिन्न नगरका २० जना नगर प्रमुखहरू इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको हो ।
त्यस्तै, महानगरले २२ जना स्वदेशी पाहुनाहरू पनि अवलोकनका लागि आउने जानकारी दिएको छ । जात्रामा राष्ट्र प्रमुखबाट श्री गणेश, श्री भैरव र कुमारीको दर्शन गर्ने परम्परा रही आएकाे छ । जात्राका लागि शान्ति सुरक्षा, सरसफाई, सम्पदाहरूको मर्मत सम्भार, रंगरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत भइरहेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । उनले २०७६ सालबाट भगिनी सम्बन्ध भएका नगरबाट पाहुनालाई आमन्त्रण गर्न थालिएको बताए ।
पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको र जात्रालाई भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी भइरहेको बताइन् । त्यस्तै उनले विभिन्न माग राख्दै सामाजिक अभियन्ता ईः ले गरिरहेको आन्दोलनप्रति ध्यानाकर्षण भइरहेको भन्दै छलफल गर्न महानगरको ढोका खुला रहेको बताइन् । सामाजिक अभियन्ता ईः ले राखेको विषय महानगरको मात्रै नभएर संघीय सरकारको पनि रहेकाले सबैको सहकार्यमा नै अघि बढ्नुपर्ने खाँचो देखिएको उनको भनाई छ ।
मंगलबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि विधिवत रूपमा प्रारम्भ हुने इन्द्रजात्रा असोज ११ गते बिहीबार रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाइँदैछ । इन्द्रजात्रा लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि चलिआएको मानिन्छ ।
प्रतिक्रिया