निर्वाचनमा भाग लिन १३ दल दर्ता तर, सम्बन्धित निकाय भने अन्यौलमै

ओखलढुङ्गा, माघ १९ ।
सत्तापक्ष दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमाले यथाशीघ्र चुनावको मिति घोषणा गरेर तीनै तहको निर्वाचन गर्न दिनहुँ जसो छलफलमा व्यस्त रहेकै बेला ओखलढुङ्गामा भने स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि १० वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेको छ ।
दल दर्ताको अन्तिम माघ १७ गतेसम्ममा ओखलढुङ्गाका १३ दलले निर्वाचन कार्यालयमा आफ्नो पार्टी दर्ता गराएका हुन् । निर्वाचन आयोगमा दर्ता भएका एक सय ११ दलहरूको सूची जिल्लामा पठाएर आयोगले त्यसैका आधारमा दल दर्ताको विवरण पठाउन देशका सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई परिपत्र गरेको थियो ।
निर्वाचन आयोगको निर्देशनसहितको परिपत्रअनुसार जिल्ला निर्वाचन कार्यालयले जारी गरेको सूचना भित्र रहेर आफ्नो नाम दर्ता गर्ने दलहरूमा क्रमशः नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी (माले जनसमाजवादी), संघीय समाजवादी फोरम नेपाल, जनजागरण पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) रहेका छन् । दर्ता भएका मध्ये केही दल मात्रै जिल्लामा क्रियाशील पार्टी हुन् ।
निर्वाचन आयोगमा दर्ता भएका दलहरूले मात्र निर्वाचनमा भाग लिन पाउने भएकाले जिल्लामा पनि दल दर्ता गरेर यहाँको विवरण आयोगमा पठाईएको जिल्ला निर्वाचन अधिकारी अर्जुन राईले जानकारी दिँदै उनले सम्बन्धित दलको जिल्ला कार्य समितिको नामावली, कार्यालय रहेको ठेगाना, सम्पर्क नम्बर, घोषणा पत्र आदि आधारमा जिल्लामा दल दर्ता गरिएको बताए ।
‘निर्वाचन आयोगमा दल दर्ता भए पुग्नु पर्ने हो तर, जिल्लामा स्थानीय तहको निर्वाचनलाई व्यवस्थित गर्न, निर्वाचनका लागि समन्वय गर्न र जिल्लामा कति दल छन् भन्ने जानकारीका लागि जिल्लामा पनि दर्ता गराउनुपर्ने व्यवस्था गरिएको हो ।’ उनले भने ।
जिल्ला निर्वाचन अधिकारी राईकाअनुसार ओखलढुङ्गामा नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा माओवादी पार्टीले भने विवरण अद्यावधिक गराएका छैनन् ।
यसैबीच, शीर्ष दलहरूबीच निर्वाचनको मिति घोषणालाई लिएर दिनहुँ जसो छलफल जारी रहँदासमेत मिति घोषणा गर्न सकेको छैन । जसका कारण निर्वाचन आयोग पनि यी सबै हुँदाहुँदै पनि चुनावका लागि तयारी गर्ने वा नगर्ने भन्ने कुरामा अन्यौल रहेको बुझिएको छ ।
प्रतिक्रिया