आउँदो १५ भित्र निर्वाचन घोषणा नभए जेठमा स्थानीय निर्वाचन असम्भव : नेता खड्का

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार १६:०९


भक्तपुर, माघ १९ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद् डा. नारायण खड्काले सरकारले आउँदो फागुन १५ गतेभित्रमा स्थानीय निकायको निर्वाचन घोषणा नगरे जेठमा निर्वाचन गर्ने सम्भावना नरहेको बताएका छन् । रफल सञ्चार क्लबद्वारा आज आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको दाबी गरेका हुन् ।

निर्वाचन आयोगले तीन महिना अगावै निर्वाचनको मिति घोषणा गर्न आग्रह गरिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठसम्म पनि स्थानीय निकायको निर्वाचन गर्न नसके नैतिक दबाबमा पर्ने बताउँदै उनले जसरी पनि स्थानीय निकायको निर्वाचनमा अघि बढ्नुपर्नेमा जोडसमेत दिएका छन् ।

आगामी २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न सरकारले गृहकार्य अगाडि बढाउन नसकेकोसमेत उनले आरोप लगाउँदै उनले भने, सरकारले जेठभित्र स्थानीय निकायको निर्वाचन गरेर देखाए अर्को आउने मंसिरमा प्रदेशको निर्वाचन गराउन सकिन्थ्यो । तर, जेठमा निर्वाचन गर्न नसकिए त्यसपछि मंसिर महिना यता निर्वाचन सम्भव छैन । जनतालाई विश्वासको वातावरण दिलाउँदै जानुपर्नेमा सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेकोमा उनले आक्रोश पोख्दै यदि जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने हो भने वर्तमान सरकारको काम रिबन काट्ने र उद्घाटन गर्ने अर्थात औपचारिक कार्यक्रममा त्यत्तिकै बित्ने भएकाले सरकार नैतिक संकटमा पर्ने बताए ।

मधेशवादी दलले आफूहरूको सम्पूर्ण माग पूरा नभए निर्वाचन जान्न भन्नु गलत भएको बताए । उनले अधुरो जनादेश बोकेर आउने र जनताले पत्याएनन् भन्ने अनि आफ्ना सम्पूर्ण माग पूरा भएन भने निर्वाचनमा जान्न भन्नु गैरजिम्मेवार भएको बताए ।

एमालेले मधेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै मधेशवादी दलसँग एमालेले प्रत्यक्ष संवाद गरेर जायज माग पूरा गर्न सक्ने प्रतिबद्धता जनाएर निर्वाचनमा सबै एक ठाउँमा उभिनुपर्ने बताए । सरकारले तीन तहको निर्वाचन एक वर्षभित्र गरिसक्नुपर्नेमा कुनै तहको निर्वाचन पनि नगर्ने हो भने वर्तमान सरकारको औचित्यमाथी प्रश्न खडा हुने विचार राख्दै उनले भने, यदि सरकारले काम गर्दै जाँदा आगामी वर्षको ७ माघभित्र संविधानले व्यवस्था गरेबमोजिम निर्वाचन गर्न नसके केही समय पर धकेल्न सकिए पनि कामै नगरी सरकारको आयु लम्ब्याउने खेलमा जो कोही सामेल हुन नहुने बताए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....