भारतीय राजदूतसँग कांग्रेस, माओवादी र मधेशी मोर्चाका नेताहरूको भेटवार्ता

काठमाडौं, जेठ ७ ।
स्थानीय निकायको पहिलोचरणको मतपरिणाम आइरहँदा भारतीय दूतावासले फेरि सक्रियता बढाएको छ ।
भारतीय राजदूत मन्जिभ सिंह पुरीले कांग्रेस, माओवादी र मधेशी मोर्चाका नेताहरूसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको हो । एकल र छुट्टाछुट्टै भएको भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवादेखि मधेशी मोर्चाका नेताहरूसँग सहभागी रहेको बताइएको छ ।
स्रोतकाअनुसार, शुक्रबारदेखि भारतीय दुतावासले यति सक्रियता बढाएको छ, एकापछि अर्को नेतालाई भेटिरहेको छ । शुक्रबार कांग्रेस नेताहरूलाई भेट्नुअघि भारतीय दूतावासका विजय चौधरी लगायतको टोलीले बिहान १० बजेदेखि ११ बजेसम्म बालुवाटारमा सभामुख ओन्सरी घर्तीसहितको टोलीसँग भेटेको थियो ।
त्यसलगत्तै भारतीय राजदुतले कांग्रेस सभापति देउवा, गृहमन्त्री विमलेन्द्र निधि, मन्त्री बालकृष्ण खाँड र मधेशी नेता अनिल झासँग भेटवार्ता गरेका थिए । बिहान १० बजेदेखि ३ बजेसम्म भारतीय दूतावासमै भएको भोजनसहितको बैठकमा पहिलोचरणको चुनावी समिक्षा, दोस्रो चरणको निर्वाचन, नयाँ सरकार गठन लगायतका विषयमा छलफल भएको स्रोतले बतायो ।
शेरबहादुर देउवा र विमलेन्द्रसँगको भेटलगत्तै दिउँसो ३ बजेर २० मिनेटमा कांग्रेसका अमरेशकुमार सिंह, बालकृष्ण खाँड र माओवादीका जनार्दन शर्मासँग भारतीय राजदूतले भेटेका थिए । तर, यी सबै भेटवार्तालाई अति नै गोप्य राखिएको भारतीय दूतावास स्रोतले जनाएको छ ।
प्रतिक्रिया