आफ्नो पार्टी पराजित भएको कारण यसरी खुलस्त पारे शेखर कोइरालाले

काठमाडौं, जेठ ७ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो जेठ ३१ गते हुन गइरहेको दोश्रो चरणको चुनाव अघि संशोधन पास असम्भव रहेको बताएका छन् । उनले राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय गठबन्धनसँग संशोधनका लागि सम्झौता गरी चुनावमा जान प्रस्तावसमेत गरेका छन् ।
‘संशोधन पास गर्नका लागि अब संसद्मा कति समय छ, चुनावको तयारी गर्न कति समय छ त्यो हेरेर अघि बढौं । सम्झौता गरी चुनावमा जान सकिन्छ’, उनले आज एउटा टेलिभिजन अन्तर्वार्तामा बोल्दै भने, ‘चुनाव जसरी पनि गर्नुपर्छ भन्ने लाग्छ भने कांग्रेस, एमाले र माओवादी केन्द्रले मधेशवादीसँग त्यस्तो लिखित सम्झौता गरी चुनाव सम्भव गराउन सक्नुपर्छ ।’
अहिलेको राजनीतिक सम्वाद द्रूत गतिमा नहुनु दुःखदायी रहेको बताउँदै उनले मधेशी मोर्चा चुनावमा सहभागी नभए राजनीतिक संकट उत्पन्न हुनसक्ने चेतावनी दिँदै उनले भने, ‘दोश्रो चरणको चुनावका लागि मधेशी मोर्चाले राखेका माग पूरा गर्न सकिनेलाई सम्बोधन गरौं, ढिलो हुने विषयमा लिखित सम्झौता गरौं ।’
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले चाहेको भन्दा बढी माया गरेको बताएका उनले प्राविधिक पक्ष हेर्दा कांग्रेसप्रति जनता अझ रुष्ट हुनुपर्ने आँकलन गरेको बताए । नजिरका रूपमा नेपाल प्रहरीको आईजीपी प्रकरण, राजदूत नियुक्ति र प्रधानन्यायाधीशको महाअभियोग प्रस्तावमा कांग्रेस नेतृत्वको एकल निर्णयले पार्टीलाई चुनावमा धक्का लागेको उनको संश्लेषण थियो । उनले अगाडि थपे, ‘यस्ता प्रकरणले कांग्रेसलाई समस्या थियो । अझ, भरतपुरजस्तो महानगरमा कांग्रेसले गरेको निर्णयले अप्रिय थियो ।’
चुनावमा हारजित स्वाभाविक प्रक्रिया हुने प्रतिक्रिया दिएका कोइरालाले जनताको मनशाय बुझ्न नसक्नु नेतृत्वको भूल भएको टिप्पणी गर्दै भने, ‘काठमाडौं महानगरमा पनि जनताको भावनाअनुकूल युवा उम्मेदवार नछान्दा हामी पछि परेका हौं ।’
प्रतिक्रिया