अहिंसा परमो धर्म

प्रकाशित मिति: २३ पुष २०८०, सोमबार १८:३३


F खेमबहादुर बुढाथोकी ‘शिशिर’
विश्वमा जति पनि धर्म मानिन्छ । ती सबै धर्मका मूलसार एउटै छन्, कुनै पनि धर्मले पाप गर्नु, हिंसा गर्नु, खराब कर्म गर्नु भनेका छैनन् । धर्मबारे हाम्रो गलत बुझाई, अज्ञानता र केही सीमित स्वार्थ बोकेका धार्मिक बिल्ला भिरेका अतिवादीहरूको कारणले गर्दा आज हामी यो धर्म, त्यो धर्म, उ धर्म भन्दै भौतारीरहेका छौँ, अनि एकआपसमा लडिरहेका छौँ । सर्वप्रथम त हामीले धर्मको परिभाषा जान्नु अत्यन्तै जरुरी छ कि धर्म भनेको कर्मले निर्धारण गर्ने कुरा हो । जस्तो कर्म त्यस्तो धर्म, हामी कस्तो कर्म गर्छौ त्यही अनुरूपको धर्म हुने हो । गलत कर्म गरे पाप र असल कर्म गरे धर्म अथवा धारण गर्न योग्य चिज वस्तु नै धर्म हो ।

संसारमा सबैको आ-आफ्नै धर्म हुन्छ, कर्तव्य पालना गर्नु जिम्मेवार बन्नु, सदाचारी रहनु, अन्य जीवप्रति उदारभाव राख्नु मानवको धर्म हो त्यस्तै, वृक्षको धर्म छाँया र फल दिनु हो । सूर्यको धर्म सौर्य मण्डलमा प्रकाश छर्नु नदीको धर्म जीवनदायी जलप्रवाह गर्नु, बादलको धर्म पानी वर्षाउनु, विद्यार्थीको धर्म ध्यानपूर्वक विद्या आर्जन गर्नु, सन्तानको धर्म मातापिताको वृद्ध अवस्थामा साहारा दिनु र शासकको धर्म प्रजाको पूरा लगनका साथ पालन गर्नु हो यसरी नै मानवलगायत सम्पूर्ण प्राणीहरू आ-आफ्नो धर्मको परिधीमा बाँधिएका हुन्छन् ।
हामी सबैलाई थाहा छ यो श्रृष्टिमा मानव नै सर्वश्रेष्ठ र चेतनशील प्राणी हो । त्यही चेतना भएकै कारणले होला आज हामीले आफ्नो धर्म संस्कार र संस्कृति मान्न छाड्यौँ तर, चेतना नभए तापनि अन्य जीव प्राणीहरूले आफ्नो धर्म छाडेका छैनन् । उदाहरणको लागि अरिङ्गालको गोलोलाई हामीले नचलाई ढुङ्गाले नहिर्काएसम्म उसले टोक्न आउँदैन । यदि उसले आफ्नो धर्म छाडेको भए बस्ती बस्ती पसेर मान्छेलगायत अरू प्राणीलाई लखेटी-लखेटी टोक्ने थियो तर, उ आफ्नो धर्मको परिधीमा छ उसले नचलाएसम्म कसैलाई टोक्दैन । त्यस्तै सर्पलाई हेनुस्, उसले पनि आफ्नो धर्म छाडेको भए प्वालबाट निस्केर मानिसलगायत अन्य जीवलाई लखेटी लखेटी डस्ने थियो । जबसम्म उसको अगाडि कोही पर्छ उसले असहज महशुस गर्छ अनि मात्र आफ्नो ज्यान जोगाउनको लागि अरूलाई डस्छ । उ आफ्नो धर्ममा सधैँ अडिग छ । घाँस खाने शाकाहारी जनावरले घाँस खान छोडेर मासु खाएका छैनन्, मासु खाने मांसहारीले मासु खान छोडेर घाँस खाएका छैनन् । यसरी नै मानिस बाहेक अन्य जीव प्राणीहरू आज पनि आफ्नै धर्मको परिधी भित्रै छन्, जस्तोसुकै विषम परिस्थितिमा पनि कसैले आफ्नो धर्म र कर्म छाडेका छैन ।

आरदणीय सबै नेपालीहरूमा म के अनुरोध गर्न चाहन्छु भने यसरी अन्य जीव प्राणीहरूले त आफ्नो धर्म र कर्म छाडेका छैनन् भने हामी सबैभन्दा उत्तम सर्वश्रेष्ठ चेतनशील प्राणी मानव किन आफ्नो सबैभन्दा उत्कृष्ट धर्म, संस्कृति, संस्कार अनि मौलिक परम्परालाई त्याग्ने ? जुन मौलिक परम्परा र संस्कृति रितिरिवाजबाट हामी संसारभरी परिचित छौँ । त्यही कुरालाई त्याग्यौँ भने हामीसँग विश्वमै हाम्रो पहिचान के नै बाँकी रहन्छन् ? बेग्लै संस्कृति बोकेको हामी नेपाली वीर गोर्खाली गर्वका साथ छाती फुलाएर भन्न कहाँ पाइन्छ र ? इतिहास हाम्रो साक्षी छ हामी को हौँ र हामीले के गर्नुपर्छ भन्ने कुराको लागि ?

यो सिङ्गो संसार विभिन्न जातजातिका प्राणीहरू बासस्थान हो, हामी मानिस जातिका हौँ, कुनै पनि धर्मले जातजाति छुट्याएको छैन मात्र कामको आधारमा ब्राम्हण, क्षेत्री, बैश्य, शुद्र भनेर छुट्याएको हो, कुनै पनि धर्मले कहिल्यै उच र निचको व्यावहार गरेको छैन र गर्दैन पनि । सबै धर्मले भन्छ, ‘हामी सबै एकै ईश्वरका सन्तान हौँ र हामी मानव जातिका हौँ’ उदाहरणको लागि आँपको प्रजातिलाई हेरौँ, हामीले खाने आँप पनि कति धेरै जातका हुन्छन्, माल्दा आँप, दशहरी आँप, कृष्ण भोग, बम्बई आँप आदि इत्यादि । यिनै आँपको जाति मध्ये कुनै साह्रै मिठो हुन्छ, कुनै अमिलो हुन्छ त कुनै खल्लो हुन्छन् । त्यस्तै, हामी मानव जातिको विचार फरक होला, काम फरक होला तर, हामी यो श्रृष्टिका सुन्दर फूल हौँ, हामी यो श्रृष्टिको सुन्दर बगैँचामा मिले बस्यौँ भने मात्र राम्रो हुन्छ र, मिले बस्नु पर्छ । यो जातिवाद र धर्मवाद भनेको कुरा धर्मले बनाएका होइन । हामीले बनाएका हौँ । ईश्वरको नजरमा हामी सबै-सबै समान छौँ । स्मरण रहोस् हामी जाति अवश्य थियौँ तर, हामीलाई जातिवाद बनाएर विभिन्न स्वार्थ समूहले हामीलाई टुक्याउन, फुटाउन खोजी रहेका छन् । त्यस्ता अतिवादीहरूसँग हामी सधैँ होसियार रहनु पर्छ ।

र अन्त्यमा, आदरणीय नेपाली जनसमुदायहरू हामी नेपाली भएर नेपालमा जन्मिएकोमा हामीले गर्व गर्न सिक्नुपर्छ । विभिन्न विषयमा लड्ने होइन, हामी एकापसमा मिल्नु पर्छ भाइभाई लडेको हामीलाई अलिकति पनि सुहाउँदैन । किनकी हाम्रो देश शान्ति भूमि गौतम बुद्धको देश हो, जानकी र भृकुटी जस्ता विभूतिहरूको देश हो । सधैँ शीर उच्च रहने विश्वको उच्च सगरमाथाको देश हो । त्यसैले आउनुहोस्, विश्वको कु-संस्कृति र कु-परम्परा धर्म छाडेर आफ्नै मौलिक परम्परा सु-संस्कृतिको प्रचार गरौँ, भगवान् गौतम बुद्धको अहिंसा परमो धर्मको प्रचार गरौँ यसैमा हाम्रो जय जयकार हुनेछ । यसैमा नेपाल आमाको भलो हुनेछ । धन्यवाद ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....