चुनावको निश्चित दिन नतोकी निर्वाचन आयोगलाई पत्र

काठमाडौं, माघ २० ।
वर्तमान सरकारले स्थानीय तहको चुनावको मितिको विषयलाई लिएर आज निर्णय गर्ने तयारी गरेको छ । चुनावको निश्चित दिन नतोकी बैशाख मसान्तदेखि जेठको पहिलो हप्तासम्मको समय तोकेर निर्वाचन आयोगलाई पत्र पठाउने सरकारले तयारी गरेको हो ।
सोही विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले कानूनमन्त्री अजयशंकर नायक र महान्यायाधीवक्ता रमन श्रेष्ठसँग बालुवाटारमा छलफलसमेत गरेका छन् । आजको मन्त्रिपरिषद् बैठकमा स्थानीय चुनावको मिति घोषणासम्बन्धी प्रस्ताव लैजाने तयारी भइरहेका बेला प्रधानमन्त्री दाहालले कानूनमन्त्री र महान्यायाधीवक्तालाई बिहानै बालुवाटार बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले आगामी बैशाखको मसान्तमा स्थानीय तहको चुनाव घोषणा गर्ने निर्णय गर्ने तर निश्चित दिन भने नतोक्ने गरी तयारी भइरहेको बालुवाटार निकट श्रोतले जनाएको छ । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न मोर्चासँग सहमति नजुटेपछि सरकारले बैशाखभित्र निर्वाचन गर्ने गरी आयोगलाई आग्रह गर्ने भएको हो ।
आजको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगलाई औपचारिक रूपमा निर्वाचनसम्बन्धी सबै काम अगाडि बढाउन आग्रह गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सचिवालयले आजको मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोक्ने तयारी गरे पनि राजनीतिक विषयमा छलफल गरेर सहमतिमै अगाडि बढौँ भन्ने उद्देश्यले अहिलेलाई बैशाखभित्र निर्वाचन गर्न सक्ने गरी तयारी अगाडि बढाउन आयोगलाई आग्रह गर्ने र चाँडै निर्वाचन मिति घोषणा गर्ने तयारी रहेको बताएको हो ।
निर्वाचनको मिति घोषणा गर्न नसक्दा सत्ता साझेदार कांग्रेसभित्रबाट असन्तुष्टि व्यक्त भइरहेको र मिति घोषणा गर्दा मधेशी मोर्चाले साथ छाड्ने अवस्था आएपछि सरकार अप्ठेरो अवस्थामा पुगेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेपछि निर्वाचन आयोगलाई पत्र पठाउने सरकारको तयारी छ । निर्वाचन आयोगले कम्तीमा ९० दिनको समय दिएर मिति घोषणा भए चुनाव गर्न सकिने बताउँदै आएको छ ।
प्रतिक्रिया