नेपाल सेमिफाइनलबाट बाहिरिएसँगै एशिया कप खेल्ने सपनामा पूर्णविराम

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार १५:३५


काठमाडाैं, बैशाख ७ ।
नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा यूएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एशिया कप खेल्ने नेपालको सपनामा पनि पूर्णविराम लागेकाे छ ।

यता जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले आजै हुने ओमान र हङकङबीचको सेमिफाइलको बिजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको आजको खेलमा जितका लागि नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १७ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि अलिसान शराफुले अर्धशतकीय पारी खेल प्रस्तुत गरे भने उनले ४१ बलमा २ छक्का र ४ चौकाको सहयोगमा ५५ रन बनाएका थिए ।

साथै विष्णु सुकुमरनले २८, सइद हैदरले १४, मुहम्मद वासिमले ११, आसिफ खानले १० रनको योगदान दिए । नेपालका लागि गुलसन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक/एक विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ कमजोर रहन पुग्याे । नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा १ सय १९ रन मात्र बनाउन सफल भयाे । पारीको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोश्राे विकेटका रूपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत ८ रनमा गुमाउन पुग्याे ।

त्यसपछि, सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै खेल अगाडि बढाउने प्रयास गरे तापनि अन्य ब्याटरले साथ भने दिन सकेनन् । जोराले ४० बलमा २ छक्का र ४ चौकाको सहयोगमा ५० रन बनाए । गुलसन झाले २० रन र करन केसीले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा ५ रन बनाएर आउट भए भने कुशल मल्लले ३, दीपेन्द्र सिंह ऐरीले ५, सोमपाल कामीले २ रन मात्रै बनाउन सफल भएका थिए । अविनास बोहोराले १ र ललित राजवंशीले २ रन मात्र बनाए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले २/२ विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले १/१ विकेट लिए । नेपाल समूह ‘ए’ को बिजेताका रूपमा सेमिफाइलमा पुगेको हो भने यूएई समूह ‘बी’को उपबिजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

समूह चरणको खेलमा नेपालले सबै ४ खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो ।

यसैबीच, यूएईले कुबेतलाई ७ विकेट, बहराइनलाई ३७ र कम्बाेडियालाई ९ विकेटले हराएको थियो भने ओमानसँग ९ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....