नेक्सजेन म्यानेजमेन्टको योङ्ग इनोभेटर्स मिट सम्पन्न

प्रकाशित मिति: ९ बैशाख २०८१, आईतवार १४:४१


काठमाडाैं, बैशाख ९ ।
नेक्सजेन म्यानेजमेन्टले शनिबार काठमाडौंमा योङ्ग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वरको आनन्दभूमि बिजनेस सेन्टरमा शनिबार आयोजित कार्यक्रममा युवाहरूको ब्यापक सहभागिता रहेको थियो । स्टार्ट अप व्यावसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम सञ्चालन गरेको थियो ।

कर्यक्रममा सहभागिहरूको स्वागत नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए । देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन हुँदैछन् । सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरूबीच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको जानकारी अध्यक्ष भट्टराईले दिए । यस्ता कार्यक्रम काठमाडौंलगायत देशका अन्य स्थानमा पनि निरन्तर गरिने बताए ।

स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा. शम्भु पोखरेलले आर्थिक मन्दीको यस्तो प्रतिकूल अवस्थामा नेक्सजेन म्यानेजमेन्टले प्रसंशनीय कार्य गरेको छ । उनले स्टार्ट अप व्यावसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने विश्वास दिलाए । कार्यक्रममा विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्सालले लघु वित्तीय संस्थाको तर्फबाट स्टार्ट अप व्यावसाय गर्न चाहनेलाई वित्तीय श्रोतको व्यवस्था गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट कृषि विकास बैंक र नेपाल बैंकका पूर्व कार्यकारी प्रमुख देबेन्द्र प्रताप शाहले युवाहरू अघि नबढी देश नबन्नेमा जोड दिए । युवाहरूले नयाँ-नयाँ कामको सम्भावना खोजी गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्तो संस्थासँग सहकार्य गरी काम गर्दा सफल हुन सकिने विश्वास व्यक्त गरे ।

योङ्ग इनोभेटर्स मिट कार्यक्रमको अध्यक्षता ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले गरेका थिए । उक्त कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्दै उनले बैंकहरूले जनताको निक्षेपबाट लगानी गर्नुपर्ने हुन्छ । त्यसैले सम्भावना भएको र कर्जा तिर्न सक्ने क्षमता भएको उद्योग व्यावसायमा मात्र लगानी गर्न सकिने जानकारी गराए । स्टार्ट अप व्यावसाय अधिकांश सफल हुँदैनन् । त्यसैले अध्ययन अनुसन्धान गरेर नयाँ प्रविधि र सोचका साथ टीम बनाएर काम गर्दा सफल हुने बज्राचार्यले विश्वास दिलाए । साथै नेक्सजेन म्यानेजमेन्ट जस्तो अनुभवी र दक्ष संस्थामार्फत् आउँदा बैंकहरूलाई लगानी गर्न सहज हुने जानकारी पनि उनले दिए ।

कार्यक्रमको अन्त्यमा नेक्सजेनका सञ्चालक सुरेश सापकोटाले सहभागीहरूलाई धन्यवाद ब्यक्त गर्दै युवाहरूले जोखिम नलिई अगाडि बढ्न सक्दैनन् । त्यसैले सम्भावनाका नयाँ क्षेत्रको पहिचान गर्दै काम गर्ने साहस देखाउन आग्रह गरे । स्टार्ट अप व्यावसायी, विभिन्न कलेजका मास्टर्स तहमा अध्ययनरत विद्यार्थी र नयाँ काम गर्न चाहने युवाहरूसमेत गरी ७० जना भन्दा बढीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....