काठमाडाैंकाे वायु प्रदूषण बढ्दाे : अनिवार्य मास्क लगाउन आग्रह

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार १६:११


काठमाडाैं, बैशाख १८ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेकाले मास्क लगाउन सबैमा अनुराेध गरेको छ ।

मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन अनुराेध गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौंमा वायु प्रदूषण अत्याधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्याधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरेका छन् ।

‘वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,’ प्रवक्ता बुढाथोकीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

नेपालमा वायु प्रदूषणबाट बर्सेनि हुने मृत्युमा बढी जसो पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा रहेका छन् । यसले नेपालीको औसत आयु ४ दशमलव १ प्रतिशतले घटाएको तथ्याङ्क रहेकाे छ ।

नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकीकाे धारणा रहेकाे छ । गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँड्डुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको पनि मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई पक्राउ गर्न.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....