सीके राउत पक्राउ परेसँगै नेपाल प्रहरीको निगरानीमा विप्लव नेतृत्वका माओवादी

काठमाडौं, माघ २१ ।
नेपाल प्रहरीले स्वतन्त्र मधेश अभियान चलाइरहेका डा. सीके राउतलाई बिहीबार पक्राउ गरेसँगै विभिन्न जिल्लाहरूमा उनका कार्यकर्तासँगै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादी निकट कार्यकर्ताहरूको पनि विवरण संकलन कार्यलाई प्रहरीले तीब्रता दिएको छ ।
विप्लव नेतृत्वको माओवादीले देशमा सशस्त्र संघर्ष गर्ने धम्की दिइरहेको र आगामी चुनावमा हिंसात्मक गतिविधि गर्न सक्ने सम्भावना बढी भएकाले उनीहरूमाथी निगरानी थालिएको छ । विशेष गरी सीके राउतको प्रभाव रहेको भनिएका तराई मधेशका जिल्लाहरू रहेका प्रहरी कार्यालयहरूलाई गृह मन्त्रालयले सर्कुलर नै पठाएर सीके राउत र विप्लव माओवादीका स्थानीय कमिटीहरूको नाम संकलन गरी पठाउन भनेको छ ।
प्रहरीले सिराहाका विभिन्न स्थानमा सीके राउतको उपस्थिति देखिए पनि विप्लव माओवादीको भने उपस्थिति खासै नदेखिएको प्रतिवेदन प्रहरी हेडक्वार्टरमा पठाएको छ । जस्तै ईलाका प्रहरी कार्यालय लहानले पठाएको प्रतिवेदनमा त्यहाँ विप्लव माओवादी नदेखिएको उल्लेख छ ।
तर, पहाडका जिल्लाहरूमा भने विप्लव माओवादीको गतिविधि रहेको भन्दै उनको नाम संकलन भइरहेको प्रहरी श्रोतले बतायो । संविधानको कार्यान्वयन र निर्वाचनलाई सफल पार्नका लागि देशमा एकातर्फ सीके राउत र अर्कोतिर विप्लव माओवादी मुख्य चुनौती रहेको सरकारको विश्लेषण रहेको छ । र, यही कारणले गृह मन्त्रालयले सीके राउतका कार्यकर्तासँगै विप्लव माओवादीको पनि निगरानीलाई तीब्रता बढाएको श्रोतले जनाएको छ ।
प्रतिक्रिया