“भोटो जात्रा” कहाँबाट कसरी सुरुवात भयो ?

ललितपुर, जेठ १० ।
भोलि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा । किम्बदन्तीअनुसार धेरै वर्षअघि काठमाडौं उपत्यकामा टौदह नामको एउटा सुन्दर पोखरी थियो, त्यो पोखरी अहिले पनि रहेको छ । त्यस पोखरीमा नाग नागिनीको एउटा जोडी बस्दथ्यो । नागको नाम थियो कर्कोटक । कर्कोटक नागहरूका पनि राजा थिए ।
एक दिन नागिनीको आँखा दुख्यो । त्यस बेला भक्तपुरमा एक जना जान्ने ललित ज्यापु (चक्रपथ) वैद्य थिए । कर्कोटक नाग ज्यापु वैद्यलाई खोज्न गएका थिए । नागले ज्यापु वैद्यलाई अनुरोध गरे ‘मेरी नागिनीको आँखा दुखेको छ, मेरो दरबारमा पाल्नुहोस् र ओखती गरी दिनुहोस् । धेरै गुण मान्ने छु र उचित पुरस्कार पनि टक्र्याउने छु ।’
टाउको हल्लाउँदै ज्यापु वैद्यले नागको अनुरोध स्वीकार गरे । ‘हुन्छ म ओखती गरेर आँखा निको पारिदिन्छु’ कर्कोटकसँग ज्यापु वैद्य हिँड्छन् ।
दुबै जना टौदह पुगे । त्यहाँ पुगेपछि कर्कोटक नाग ज्यापु वैद्यलाई जुरुक्कै उचालेर दहमा झ्याम्म हाम्फाले । दुबै जना नागिनी सुतिरहेको दरबारमा पुगे । ज्यापु वैद्यले नागिनीका आँखामा लगाउने एउटा मलम बनाए र आँखामा लगाई दिए । त्यो मलम लगाउने बित्तिकै नागिनीको दुखेको आँखा निको हुन्छ ।
नाग नागिनी ज्याँदै खुसी भएर ज्यापु वैद्यलाई अनेक पुरस्कार दिए । उनले अनेक किसिमका मणिहरू जडेको झल्झली झल्कने कालो भोटो पनि ज्यापु वैद्यलाई उपहार दिए ।
चाडपर्वका बेलामा आफ्नो झल्झली झल्कने भोटो लगाएर ज्यापु वैद्य ढल्कँदै हिँड्थे । ज्यापु वैद्यको त्यति राम्रो भोटो देखेर एउटा भूतलाई लोभ लाग्यो । उसले त्यो भोटो हात पार्ने विचार गर्यो ।
ज्यापु वैद्य एक दिन भोटो फुकालेर आलीमा थपक्क राखी खेत खन्दै थिए । भूतले त्यो भोटो सुटुक्क चोरेर लग्यो । हस्याङफस्याङ गर्दै वैद्य भूतका पछिपछि लागे, तर उनले भूतलाई समात्न सकेनन् ।
पाटनका बासिन्दाहरू प्रत्येक वर्ष वर्षायाम सुरु हुनुभन्दा अगाडि मच्छिन्द्रनाथको रथ तान्ने गर्छन् । उहिले मच्छिन्द्रनाथको रथ तानेर जाउलाखेल ल्याई पुर्याउँदा उपत्यकाबासीहरू र भूतप्रेतहरू पनि जात्रा हेर्न आउँथे ।
त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ की भनेर ज्यापु वैद्य पनि त्यहीँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर त्यो भूत पनि त्यहाँ जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो ।
नागराजा पनि मानव रूप धारण गरेर जात्रा हेरिरहेका थिए । बुढो वैद्य पनि जात्रा हेर्न आएछ । भक्तजनहरूको सामान हराएकाले ललितपुरको एक जना बज्राचार्यले मन्त्र गरी दिग्बन्धन गरेपछि, अदृष्य चोर भुतहरू कहीँ जान नसकेर देखिन थाले । यहीँ मौकामा भोटो लगाएको भुतलाई वैद्यले देखेर समात्न खोज्दा दुबै बीच झगडा भएछ । मणिमय भोटोको प्रभावले भुत बलियो भई वैद्यलाई कस्त दिएछ ।
वैद्यले गुहार मागेछ । मानवरूपी नागराजले त्यो देखेर रिसले भुतलाई टाउकोमा एक मुड्की बजाएछ, अनि भुत भुईंमा ढलेछ र उठेर क्षमा मागेछ । नागराजले मैले स्वईच्छाले दिएको भोटो वैद्यलाई फिर्ता गर भनेछ । भुतले त्यो भोटो वैद्य बुढालाई लायक नभएको अनि आफ्नो पनि लायक नभएकाले मच्छिन्द्रनाथलाई चढाउन अनुरोध गरेछ । यो कुरामा सबैको चित्त बुझेकाले श्री मच्छिन्द्रनाथलाई चढाएछ ।
यो समाचार सुनेर तत्कालीन राजा वरदेव पनि त्यहाँ आएछन् । नागराजले नागलोकको उक्त भोटो वर्षेनी जावलाखेलको जात्रामा चारै दिशाबाट तिन पटक देखाउन आदेश दिएछ । प्रथम पटक देव, मनुष्य, नागलोकलाई दोश्र्रो पटक काठमाडौं, ललितपुर, भक्तपुर, टौदह अनि बन्धुदत्त गुरु नरेन्द्रदेव राजा रथचक्र भरिया र कर्कोटक नागराजा, तेश्रो पटकको भुत बुढा वैद्य मन्त्र गर्ने बज्राचार्यसहित यक्ष लोकलाई देखाउनु भनेछ ।
यो कुरामा सबैलाई साक्षी राखी नागराज अलप भएछ त्यसबेलादेखि भोटो देखाउने जात्रा प्रचलनमा रहिआएको हो भन्ने किम्बदन्ती छ ।
मानिसहरूमा यो भोटो कसको हो भनी भोटो देखाएको भन्ने गलत धारणा रहिआएको छ । भोटो कसको हो भनी देखाएको नभई कर्कोटक नागराजाको आदेशअनुसार नागलोकको बस्त्र सबैलाई देखाउन उक्त भोटो जात्रा प्रचलनमा आएको हो । उक्त भोटो दर्शन गर्नाले अष्ट महाभयबाट मुक्त हुन्छ भन्ने किम्बदन्ती रही आएको छ ।
प्रतिक्रिया