मध्यपुरथिमिका जनप्रतिनिधिद्वारा शपथ ग्रहण

भक्तपुर, जेठ ११ ।
मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उप–प्रमुख, वडा अध्यक्ष एवम् सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् ।
आज मध्यपुरथिमि नगरपालिकामा आयोजित एक कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलले नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उप–प्रमुख अञ्जना मधिकर्मी र नौवटा वडाका वडाध्यक्षलाई शपथ खुवाएको थियो ।
त्यसलगत्तै नगरप्रमुख श्रेष्ठले वडाका वडा सदस्यलाई शपथ खुवाएको थियो । स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारले नगर प्रमुख र नेपाली कांग्रेसका उम्मेदवारले उप–प्रमुख जितेका थिए । वडाहरूमा कांग्रेस, एमाले, नेमकिपा र स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।
नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधिहरूलाई स्वागत गरेको थियो । शपथ ग्रहणसँगै आजै नगरप्रमुख तथा उप–प्रमुखले आफ्नो कार्यकक्षमा गएर कार्यभार सम्हालेको थियो । कार्यभार सम्हाल्दै नगरप्रमुख श्रेष्ठले मध्यपुरथिमि नगरपालिकालाई नमुनाको नगरपालिका बनाउने दृढता प्रकट गरेका छन् ।
उनले भने मध्यपुरथिमि नगरपालिकाका कुनै पनि नागरिकको काममा अब ढिलासुस्ती हुँदैन, अनियमितता हुँदैन । यस नगरलाई पर्यटकीय, सांस्कृतिक सहरका रूपमा विकास गर्नेछौँ । नगरपालिका वरिपरि चक्रपथ निर्माणका साथे मनोहरा र हनुमन्ते करिडोरको निर्माण हामी गर्नेछौँ ।
प्रतिक्रिया