सन् २०२३ को ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति रतन टाटालाई
काठमाडाैं, भाद्र १९ ।
सन् २०२३ को लागि अणुव्रत विश्व भारती द्वारा प्रदान गरिने प्रतिष्ठित ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति तथा सामाजसेवी रतन टाटालाई प्रदान गरिएको छ । एक कार्यक्रमकाबीच उक्त पुरस्कार टाटाको मुम्बईस्थित निवासमा गएरै प्रदान गरिएको हो ।
अणुव्रत विश्व भारतीका राष्ट्रिय अध्यक्ष अविनाश नाहरसँगै त्यहाँ पुगेको प्रतिनिधि मण्डलले टाटालाई रु. १ लाख ५१ हजार रुपैयाँको पुरस्कारसहित स्मृति चिन्ह प्रदान गरेको छ । उक्त अवसरमा अणुविभाका महामन्त्री भीखमचन्द सुराना, मुम्बई भन्सार आयुक्त अशोक कुमार कोठारी, अणुविभाका उपाध्यक्ष विनोद कोठारी र सहमन्त्री मनोज सिंघवी उपस्थित थिए ।
अणुविभाका अध्यक्ष अविनाश नाहरले टाटालाई अणुव्रत पुरस्कार हस्तान्तरण गर्दै उनले मानव जातिमा गरेको सकारात्मक योगदानको प्रशंसा गर्दै विश्वमा मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकोमा सम्पूर्ण अणुविभा परिवारको तर्फबाट बधाई दिएका छन् । अणुव्रत अनुशास्ता आचार्य श्री महाश्रमणले टाटालाई शुभकामना सन्देश पठाउँदै उनको सु-स्वास्थ्यको कामनासमेत गरेका थिए । टाटाले अणुव्रत अनुशास्ता आचार्य श्री महाश्रमणप्रति हार्दिक सम्मान व्यक्त गरेका थिए ।
अणुव्रत आन्दोलनले विगत ७५ वर्षदेखि मानव एकता, नैतिकता, अहिंसा र सद्भावनाको क्षेत्रमा व्यापक कार्य गर्दै आएको सर्वविधित नै रहेकाे छ । आचार्य श्री तुलसीले सुरु गरेको यो आन्दोलनले संयुक्त राष्ट्रसंघमा समेत आफ्नो विशेष पहिचान बनाएको छ । अणुव्रत पुरस्कारको श्रृङ्खलामा आत्माराम, जैनेन्द्र कुमार, शिवाजी भावे, शिवराज पाटिल, नितिश कुमार, डा.ए.पी.जे. अब्दुल कलाम, डा. मनमोहन सिंह, टी.एन. शेषन, प्रकाश आमटेलगायत प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मानित गरिएको छ ।
साेही अवसरमा अणुव्रत प्रतिनिधि मण्डलले रतन टाटालाई अणुव्रत साहित्यहरू ‘अणुव्रत’ र ‘बच्चो का देश’ भन्ने पत्रिकाका विशेष अंकहरू भेट गरेका थिए । कार्यक्रममा टाटालाई अणुव्रतका विभिन्न कार्यक्रमहरू जस्तै चुनाव शुद्धि अभियान, अणुव्रत डिजिटल डिटक्स, एलिभेट, पर्यावरण जागरुकता अभियान, नशामुक्ति अभियान, जीवन विज्ञान आदिका बारेमा जानकारी गराए । टाटाले अणुव्रत विश्व भारती परिवारलाई समाज सुधारका लागि गरिरहेका कार्यहरू प्रति प्रशंसा गर्दै हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।
अनुव्रत सुरु भएको ७० वर्षदेखि यसको समिति नेपालमा पनि सञ्चालन रहेको छ । यसको अध्यक्षामा भूतपूर्व प्रधानमन्त्री स्व. मातृकाप्रसाद कोइरालासमेत रहिसकेका छन् । अनुव्रत समितिमार्फत् यसको नियम परिवार मुक्ति, नसा मुक्ति, साम्प्रदायिक सौहार्द्रताको लागि एवं अनेक प्रकारका मानवीय कल्याण हुने व्रतहरूको लागि यो अभियान नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालनमा रहेको छ । यसबाट नेपाली जनताहरू प्रत्यक्ष तथा परोक्ष रूपमा लाभान्वित भइरहेका छन् ।
प्रतिक्रिया