कांग्रेसबाट सरकारमा सहभागी हुने नेताहरूको नामावली

काठमाडौं, जेठ १२ ।
राष्ट्रपति विद्या भण्डारीले दलहरूलाई सहमतीय सरकार गठनका लागि सात दिनको समयसीमा तोक्दै आह्वान गरेकी छन् ।
दलीय सहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले यो पटक सरकारको नेतृत्व गर्दैछन् । आउने सात दिन सभापति देउवाले सहमतीय सरकार गठनको लागि पहल गर्नेछन् । सहमतीय सरकार गठन गर्न नसके बहुमतीय प्रक्रियाबाट सरकार गठन हुनेछ ।
यो पटक प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका प्राय सबै दलहरू देउवा नेतृत्वको सरकारमा समेत सहभागी हुने सम्भावना देखिएको छ । मधेशी मोर्चामा आबद्ध दलहरूले सरकारमा सहभागीता हुनेबारे कुनै निर्णय नगरे पनि देउवाले राष्ट्रिय जनता पार्टी र राप्रपालाई पनि समेटेर सरकार गठन गर्ने तयारी गरेको श्रोतले बताएको छ ।
महन्थ ठाकुरको नेतृत्वमा रहेको राष्ट्रिय जनता पार्टीले देउवा नेतृत्वको सरकारलाई सहयोग गर्न सक्ने सम्भावना पनि उत्तिक्कै रहेको छ, किनभने संसदमा विचाराधीन संविधान संशोधनको मागलाई कार्यान्वयन गराउन पनि राजपाले देउवालाई सहयोग गर्ने सम्भावना उतिक्कै छ । देउवाले संविधान कार्यान्वयनमा आश्वस्त पार्दै राजपालाई सँगै लिएर जाने तयारी गरिरहेको श्रोतको दावी छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, शशाङ्क कोइराला टीमले प्रधानमन्त्री देउवापश्चातको नेतृत्व पाए डा. शेखर कोइरालाले उपप्रधान सहित प्रभावशाली मन्त्रालय पाउने छन् भने कृष्ण सिटौला गु्रपले पाए सिटौला उपप्रधान सहित आफै नेतृत्व गर्ने लाईनमा छन् । देउवा समूहकाले पाए कांग्रेसका सिनियर नेतामा नै पर्ने ज्ञानेन्द्रबहादुर कार्कीले देउवापछिको भूमिकामा बस्नेछन् । बर्तमान मन्त्रीपरिषदमा राम्रो काम गरेको भनेर हाई हाई कमाएका कारण मन्त्रीहरूमा पहिले भएकामा बालकृष्ण खाँड र गगन थापालाई निरन्तरता दिने सम्भावना समेत रहेको बताइएको छ ।
त्यस्तै सभापति देउवाले नेपाली कांग्रेसभित्रैबाट क–कसलाई सरकारमा सहभागी गराउलान् भन्ने विषयमा पनि अहिले बहस चलिरहेको छ । श्रोतकाअनुसार सभापति देउवाले आफ्नो पार्टीभित्र देखिएका रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षलाई समेटेर सरकार निर्माणको तयारी गरिरहेको बताइएको छ । देउवाले पार्टीका प्रभावशाली नेता कृष्ण सिटौला, शेखर कोइराला, ज्ञानेन्द्र कार्की लगायतका नेताहरूलाई सरकारको उपप्रधानमन्त्री सहितका प्रभावशाली मन्त्रालयसहित सहभागी गराउने तयारी गरिरहेको श्रोतको दावी छ । सिटौला उपप्रधानमन्त्रीसहित प्रभावशाली मन्त्रालयको नेतृत्व गर्दै सरकारमा सहभागी हुने छन् ।
श्रोतकाअनुसार कांग्रेसबाट मन्त्रिमण्डलमा सहभागी हुने सम्भावित नामहरूमा आनन्द ढुंगाना, कमला पन्त, मीन विश्वकर्मा, सरिता प्रसाई, डिना उपाध्याय, भीमसेनदास प्रधान, जीवन परियार, मदन अमात्य, अब्दुल रजाक, यज्ञबहादुर थापा, भरत खड्का, वीरबहादुर बलायर, डिकबहादुर लिम्बु रामकृष्ण यादब, फर्मुल्ला मंसु्र, उषा गुरुङ, सरस्वति बजिमई लगायतका नेताहरुरू रहेका छन् । उल्लेखित नेताहरूमध्ये केहीको नाम अघिल्लो सरकारमा सहभागी हुने लिस्टमा समेत परेको थियो तर कांग्रेसले उनीहरूलाई अवसर दिएको थिएन । यो पटक भने सभापति देउवाले पार्टीभित्रको तीनवटै समुहलाई मिलाएर सरकार निर्माण गर्न लागेको पार्टीका कार्यकर्ताले लाइभ अफ नेपाललाई बताएका छन् ।
प्रतिक्रिया