सभापति देउवाद्वारा प्रम दाहाललाई गम्भीर आरोप लगाउँदै सत्ता आफैँ चलाउने दाउमा

काठमाडौं, माघ २३ ।
व्यवस्थापिका संसद्को ठूलो दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आफ्नो साथमा लिन नसकेको र मधेशी मोर्चालाई पनि विश्वास दिलाउन नसकेको एवं निर्वाचनको मिति घोषणा गर्न नसकेको जस्ता गम्भीर आरोप लगाउँदै सत्ता आफैँ चलाउने दाउमा रहेका छन् ।
सभापति देउवाले प्रधानमन्त्री दाहालबाट जुन आकांक्षा र विश्वास गरेका थिए सो पूरा हुन नसकेको र पूरा हुने संकेत पनि नदेखेको भन्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने गृहकार्य अघि बढाएका हुन् ।
काठमाडौं क्षेत्र नं. २ मा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले अब आफ्नै नेतृत्वमा तीन वटै तहको निर्वाचन गर्ने बताउँदै देउवाले भने, ‘दाहालजीले खुट्टा कमाउनु भयो, उहाँको नेतृत्वमा निर्वाचन हुने छाँटकाँट देखिएन, अब मेरै नेतृत्वमा तीन वटै तहको निर्वाचन हुन्छ ।’
कांग्रेसका प्रभावशाली नेताहरू कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला र मिनेन्द्र रिजाललगायतले वर्तमान सरकार ढाल्न प्रमुख विपक्षी दल एमालेसँग भित्रभित्रै गोप्य सम्वाद चलाईरहेकै बेला सभापति देउवाले तीन वटै तहको निर्वाचन आफ्नो नेतृत्वमा हुने दाबी गरेका हुन् । प्रधानमन्त्री दाहालद्वारा आव्हान गरिएको बैठकमासमेत अनुपस्थित भएका देउवाले अबको दुई महिनाभित्र नयाँ सरकार गठन हुने दाबीसमेत गरेका छन् ।
यता, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मिति नै नतोकि निर्वाचनको तयारी अगाडि बढाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने सरकारको निर्णयप्रति गम्भीर रूपमा आपत्ति जनाएका छन् । यहाँ को मुर्ख छ र दाहालजीको चालबाजी थाहा नपाउने ? पौडेलले भने, ‘मिति बिनाको निर्वाचन तयारीले संविधान कार्यान्वयन कुनै हालतमा हुँदैन ।’
प्रतिक्रिया