अज्ञात समूहले प्रहार गरेकाे गाेली गालामा लागेर प्रधानाध्यापक गम्भीर घाइते

प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार २०:११


काठमाडाैं, कार्तिक २५ ।
अज्ञात समूहले प्रहार गरेकाे गोली लागेर सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन् ।

सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका-६ स्थित वागमती किनारमा आज आइतबार अज्ञात समूहले मकवानपुरको वागमती गाउँपालिका-१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको हो । ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीकाअनुसार गोली बोम्जनको गालामा लागेको थियाे ।

घटनालगत्तै ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी सहायक निरीक्षक शाहीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । घाइते प्रधानाध्यापक बोम्जनको वागमतीस्थित वागमती मोडल अस्पतालमा सामान्य उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि बारा लगिएको प्रहरीले जनाएको छ ।

प्रधानाध्यापक बोम्जन रौतहटको गैयाटारस्थित आफन्तको घरबाट वागमती-झनझने सडक हुँदै ना. ४० प ६६४६ नम्बरको मोटरसाइकलमा घर फर्किँदै थिए । उनी मकवानपुरको बकैया गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....