तिलगंगा आँखा प्रतिष्ठान र द फ्रेड हलोज फाउण्डेशनको सहकार्यमा आँखा अस्पताल सञ्चालन

काठमाडौं, कार्तिक ३० ।
तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेशन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ नगरपालिका-९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन गरी सेवा सुचारु गरिएको छ । मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतिश कुमार सिंहद्धारा समुद्घाटन भएको सो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल रहेको छ । करिब ३० करोडको लागतमा बनेको अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ जसले स्थानीय समुदायलाई गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउनेछ ।
तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइटले भने, “यो भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना आज साकार भएको छ । दीगो र उच्च गुणस्तरको आधारभूत आँखा उपचार सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा यो अर्को महत्वपूर्ण कदम हो । यो अस्पताल आशा र समपर्णको प्रतिक हो जसले आँखा उपचारको आवश्यकता भएका सबै बिरामीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई अगाडि बढाउँछ ।”
द फ्रेड हलोज फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले भने “यो अस्पताल, द फ्रेड हलोज फाउण्डेशनको लागि नयाँ अध्यायको सुरुवात हो, जसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दीगो सम्बन्ध स्थापित गरेको छ । हाम्रो कामको केन्द्रमा सधैँ एकीकृत, जनमुखी आँखा उपचार हुन्छ र हामी निजगढ र वरपरका सबैभन्दा आवश्यकता भएका बिरामीहरूको दृष्टि जोगाउने र पुनर्स्थापना गर्ने उद्देश्यमा लागिपरेका छौँ ।”
वर्तमानमा, नेपालमा करिब ९३,३०० जना दृष्टिविहीन छन् र करिब ७,८२,७०० जनाले कुनै न कुनै प्रकारको दृष्टि समस्यासहित जीवन व्यतित गरिरहेका छन् । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोश्रो उच्चतम स्थानमा रहेको छ तथापि, ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव छ र अत्यन्तै कम लागतमा प्रभावकारी उपचार विधिहरूबाट यसको उपचार गर्न सकिन्छ ।
प्रतिष्ठानअन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालले मोतिबिन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोप्याथी र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ, जसका लागि अत्याधुनिक उपचार विधि र समग्र सेवा प्रदान गरिनेछ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतिबिन्दु हो । अन्धोपन भएका मध्ये अनुमानित ६६.८ प्रतिशत व्यक्ति मोतिबिन्दुको कारणबाट भएको देखिन्छ ।
२३,००० फिट क्षेत्रमा फैलिएको यो अस्पतालमा ४ तला रहेका छन्, जसमा आँखा उपचारका लागि २ शल्यक्रिया कोठामा ४ वटा बेड, ओपेडी (आउटडोर पेशेन्ट विभाग) र आइपीडी (डे केयर), एक पोष्ट अपरेटिभ वार्ड र इन-हाउस फार्मेसी र अप्टिकल स्टोर रहेको छ । विभिन्न विधाका विशेषज्ञद्धारा विशिष्टिकृत आँखा उपचार सेवासमेत प्रदान गर्नेछन्, जसले मधेश प्रदेशमा उच्च गुणस्तरको उपचार सेवामा पहुँच वृद्धि गर्नेछ ।
आगामी पाँच वर्षमा, यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित २ लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्ष रूपमा यस क्षेत्रका ३० लाखभन्दा बढी व्यक्तिहरूमा गुणस्तरीय आँखा सेवाको पहुँच विस्तार गर्ने आँकलन गरिएको छ ।
विशार्टले अगाडि भने, “फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठानसँगको साझेदारीमा नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा गर्व महशुस गर्दछ । यो सहकार्यले समग्र स्वास्थ्य प्रणालीमा आँखा स्वास्थ्यलाई एकीकृत गर्दै दीगो रूपमा उपचारसम्बन्धी प्रणाली निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई ऊजागर गरेको छ । प्रतिष्ठानसँगको साझेदारीमा हामी प्रमुख आँखा स्वास्थ्य चुनौतीहरू, जस्तै लैगिंक असमानता समाधान गर्नका लागि समेत रूपान्तरणकारी र दीगो उपायहरू सुनिश्चित गर्दैछौँ ।”
नेपालमा महिलाहरू पुरुषहरूको तुलनामा दुई तिहाई बढी दृष्टिविहीन वा दृष्टिको समस्यामा रहेका छन् । यस अस्पतालले बाह्य कार्यक्रममार्पmत् विशेष प्राथमिकताका साथ आँखा स्वास्थ्यको पहुँचसम्बन्धी विद्यमान लैगिंक असमानता समाधान गर्ने दिशामा महत्वपूर्ण कदम चाल्नेछ ।
स्वास्थ्य क्षेत्रले विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनमा अनुमानित ४/५ प्रतिशत अंश रहेको देखिन्छ, त्यसैले यो अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गरी सौर्य ऊर्जाको उपयोग र प्रभावकारी वातावरण अनुकूल प्रणालीहरू प्रयोगमा ल्याउने छ । “जलवायु परिवर्तनले हाम्रो वातावरण र सबैभन्दा सिमान्तकृत र कमजोर मानिसहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ । जलवायु परिवर्तनका कारण ट्रकोमा संक्रमण, मोतिबिन्दुका समस्या र अन्य आँखा रोगहरू बढिरहेका छन् । हामी अत्यन्त गर्वित छौँ कि यस अस्पतालले स्वच्छ ऊर्जा सिद्धान्तलाई अपनाएको छ,” विशार्टले भने ।
प्रा.डा. रुइटले तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट द फ्रेड होलोज फाउण्डेशन, एसिएमई फाउण्डेशन, डि. हच्न्सन र दाताहरूको साथ र समर्थनले यो अस्पताल स्थापना गर्ने सपनालाई वास्तविकतामा परिणत गर्न पाएकोमा हार्दिक आभार व्यक्त गरेका छन् । प्रा.डा. रुइटले आफ्नो मन्तव्यमा तिलगंगा आँखा प्रतिष्ठान समुदायको सेवा गर्नको लागि यो नयाँ अस्पतालको सुरु गर्न पाउँदा सम्मानित अनुभव गरेको र दाताहरूसँग मिलेर आँखा स्वास्थ्य सेवामा दीर्घकालीन परिवर्तन ल्याउने बारे उल्लेख गरे ।
“द फ्रेड होलोज फाउण्डेशनसँग हामी तीन दशकदेखि उपचार योग्य अन्धोपनमा सहकार्य गरिरहेकोे छ । हामी गर्वका साथ यो सामुदायिक आँखा अस्पताल उद्घाटन गर्दैछौँ ताकि नेपालका जनतालाई गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्न सकियोस् । हाम्रो उद्देश्य यहाँ स्पष्ट छः जसले आँखा उपचारमा पहुँच नपाइरहेका छन् त्यस्ता व्यक्तिहरूलाई गुणस्तरीय आँखा उपचार उपलब्ध गराउन र यो सुनिश्चित गर्न कि आर्थिक अभावका कारण कसैले पनि दृष्टिकोे उपहार प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् ।” प्रा.डा.रुइटले भने ।
उद्घाटन समारोहमा आमन्त्रित स्थानीय र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले अस्पतालको निरीक्षणसमेत गरेका थिए । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह, प्रा.डा. रुइट, फाउण्डेशनका इयान विशार्ट, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, जिल्ला तथा स्थानीय निकायका जनप्रतिनिधिहरू, सरकारी कार्यालयका प्रतिनिधिहरू, स्वास्थ्य कार्यकर्ताहरू र विभिन्न संघसंस्थाका प्रमुखहरू, नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुिहद घिमिरे, कार्यक्रमका बोर्ड सदस्यहरू वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, सिद्धिलाल श्रेष्ठ, रवि के.सी., सञ्जय थापा, डा. गोविन्द राज पोख्रेल, प्रतिष्ठानका मुख्य कार्यकारी अधिकृत डा. रीता गुरुङ्ग, प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी र अन्य वरिष्ठ अधिकारीहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया