कीर्तिपुरमा मेयरका लागि कांग्रेसबाट डंगाेललाई सिफारिस, आइतबारदेखि आचार संहिता लागू
प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार १८:२७
काठमाडाैं, मंसिर १ ।
आगामी मंसिर १६ गते कीर्तिपुरको मेयरका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ ।
आज शनिबार बसेको नेपाली कांग्रेसको वागमती प्रदेश समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पालिकाबाट १४ जनाको नाम जिल्ला हुँदै प्रदेशमा पुगेको थियो ।
प्रदेश समितिले डंगोललाई नै उम्मेदवार बनाउने निर्णय लिएकाे छ । उनी नेपाली कांग्रेस कीर्तिपुर नगर समिति सभापतिसमेत हुन् ।
वि. सं. २०७९ को चुनावमा नेपाली कांग्रेसका राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी भएका थिए । उनको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
दोश्राे एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत पाएका थिए भने माओवादीका शिवशरण महर्जनले ४०९० मत ल्याएका थिए ।
कांग्रेसले मेयर र उपमेयर मात्रै होइन, १० मध्ये ९ वटा वडाध्यक्ष पनि जितेको थियो । अघिल्लो पटक जितेकाले यसपटक पनि आफूहरूले नै जित्ने कांग्रेसको दाबी रहेकाे छ ।