अष्ट्रियन कलाकारद्वारा पाटन दरबार स्क्वायरमा प्यान्टोमाइम कला प्रस्तुत (फाेटाेफिचर)

काठमाडौं, मंसिर ६ ।
प्रतिभाशाली अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले प्यान्टोमाइम प्रस्तुतिमार्फत् दर्शकलाई मन्त्रमुग्ध पारेका छन् । कार्यक्रम पाटन दरबार स्क्वायरको पाटन म्युजियममा आयोजना गरिएको थियो । कला र संस्कृतिको माध्यमबाट दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध प्रगाढ बनाउने तथा नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई थप बलियो बनाउने उद्देश्यले नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूताबासले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
यो साँस्कृतिक पहलले नेपाल र मित्रराष्ट्र अस्ट्रियाबीचको बलियो सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षासमेत गरिएको छ ।
“कूटनीति राजनीतिक र आर्थिक सम्बन्ध मात्र होइन; साँस्कृतिक आदान-प्रदान, समझदारी निर्माण र मुलुकहरूबीचको मित्रताको सबलीकरणबाट पनि यो फस्टाउँछ” नेपालका लागि अस्ट्रियाका अवैतनिक बाणिज्यदूत राजेशबाबु श्रेष्ठले भने । यस्ता कार्यक्रमले एकअर्काको साँस्कृतिक पहिचानबारे ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपालसँगको मित्रताप्रति मित्रराष्ट्र अस्ट्रियाको प्रतिबद्धता झल्काउने पनि उनले बताए ।
मनकामना केबलकारको प्रायोजन तथा नेपालका लागि अस्ट्रियाको अवैतनिक बाणिज्यदूत राजेशबाबु श्रेष्ठको सहयोग रहेको कार्यक्रममा नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूताबास अन्तर्गतको अस्ट्रियन कल्चरल फोरमका डाइरेक्टर माइकल पल र उनकी श्रीमती इरेना पल पनि सहभागी थिए ।
प्यान्टोमाइम रङ्गमञ्चीय प्रस्तुति हो । यसमा कलाकारको अनुहारको भाव र शारिरीक हाउभाउमार्फत् कथा प्रस्तुत गरिने गरिन्छ ।
यसअघि पनि कैयौं पटक सफलतापूर्वक साँस्कृतिक आदान-प्रदान कार्यक्रम सम्पन्न गरिसकेको अस्ट्रियन दूताबासले अगाामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएको छ ।
प्रतिक्रिया